विदेश जान ट्रान्जिट बनाएका भारतीयलाई रोक्दा पर्यटन प्रवर्द्धनमा धक्का !

काठमाडौं । विदेश जान नेपाललाई ट्रान्जिट बनाएका भारतीय नागरिकलाई नेपालमै रोक्दा त्यसको गलत सन्देश जाने होटल एशोसिशसन अफ नेपाल (हान)ले जनाएको छ ।

कोरोनापछि थलिएको पर्यटन व्यवसायको प्रवर्द्धन गर्न भारतीय पर्यटकले मद्दत गरिरहेकाले उनीहरुलाई होल्ड गर्न नहुने हानकी अध्यक्ष सिर्जना राणाले बताइन् । विदेशी पर्यटकलाई होल्ड गर्दा आर्थिक रुपमा नेपालाई नै क्षति हुने अध्यक्ष राणाको तर्क छ । ‘यसरी सरकारले पर्यटक होल्ड गर्दा पर्यटन प्रवर्द्धन गर्न धक्का लाग्छ’ अध्यक्ष राणाले भनिन् ।

सरकारले नेपाललाई ट्रान्जिट बनाउने विदेशी नागरिकहरुको पीसीआर परीक्षण नगर्न प्रयोगशालालाई निर्देशन दिएको थियो । सरकारको सो निर्देशनपछि नेपाललाई ट्रान्जिट बनाएका करिब ३ हजारभन्दा बढी भारतीय नागरिक नेपालमै रोकिएका छन् ।

नेपालले सन् २०२० ‘पर्यटन वर्ष’ मनाउने तयारी थालेको थियो ।सरकारले पर्यटन वर्षमा २० लाख पर्यटक नेपाल भित्रउने लक्ष्य राखेको थियो । तर कारोनाका कारण पर्यटन वर्ष नै प्रभावित भयो । जसका कारण अर्काे वर्षका लागि सार्नुपर्‍यो। कोरोनाले थला परेको पर्यटन तथा होटल व्यवसाय अझै माथि उठ्न सकेको छैन । त्यससँगै, पछिल्लो समय कोरोनाको दोस्रो लहर समेत सुरु भइसकेको छ । यस्तो अवस्थामा पर्यटन प्रवर्द्धन गर्न समस्या भइरहेको छ ।

भारतीय पर्यटकले होटलको आम्दानीमा केही राहत

कोरोना संक्रमणको चपेटामा परेको पर्यटन व्यवसायले पर्यटक आउँदा केही मात्रामा भए पनि राहत महशुस गर्न पाएको थियो । सरकारले विदेशबाट आउने नागरिकलाई कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाका कारण पनि भारतीय नागरिक नेपालका होटलहरुमा बस्दा केही मात्रामा भएपनि नेपालका होटलहरुको आम्दानी भएको थियो । विदेशी नागरिकले नेपालाई ट्राान्जिट बनाउँदा केही दिन भए पनि नेपाली होटलमा बस्ने र त्यसले केही मात्रामा होटलहरुको आम्दानी बढ्ने अध्यक्ष राणाको भनाई छ । पर्यटन व्यवसायीले भारतीय नागरिकलाई १४ दिन होटेल क्वारेन्टिन, पीसीआर परीक्षण, हवाई टिकट, यातायात सेवा तथा नेपालबाट सम्बन्धित मुलुकमा जाने हवाई टिकट लगयतको प्याकेज बनाएका थिए ।

तर सरकारको निर्णयले पर्यटन प्रवर्द्धनमा धक्का लाग्ने हानको विश्लेषण छ । त्यति मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि गलत सन्देश जाने हानको ठहर छ ।

के गर्दैछ हान ?

अहिले विदेश जान भारतीय नागकिहरु टिकट समेत काटेर बसेका छन् । सरकारको निर्णयका कारण उनीहरु नेपालमै होल्ड हुँदा मारमा परेका छन् । हानले यस्तो अप्ठेरोमा परेका पर्यटकहरुलाई व्यवस्थापन गर्न सरकार गुहार्ने भएको छ । सरकारको पीसीआर परीक्षणमा रोक लगाउने अव्यवहारिक निर्णय गरेको पर्यटन व्यवसायीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?