पारी भयावह, वारी अझै अटेरी ! (भिडियो रिपोर्ट सहित)

  • रामजी बलामी-

कोरोना भाइरस (कोभिड १९) ले छिमेकी मुलुक भारतमा भयावह रुप लिएको छ। लकडाउनको बावजुत पनि अहिले विश्वमै सबैभन्दा धेरै संक्रमित भारतमा देखा परिरहेको छ।

अमेरिकामा गत जनवरीमा एकै दिन तीन लाखभन्दा बढी व्यक्ति संक्रमित भएका थिए । तर, भारतले यो रेकर्ड मात्रै तोडेको छैन आफ्नै  रेकर्ड समेत तोड्न थालेको छ । त्यहाँ विगत ५ दिनदेखि दैनिक तीन लाख भन्दा बढी कोरोना भाइरस संक्रमित पुष्टि भईरहेको छ।

बितेको २४ घण्टामा त्यहाँ तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस संक्रमित भेटिएका छन् । सोमवारको सार्वजनिक गरिएको तथ्यांक अनुसार भारतमा २४ घण्टामा दुुई हजार ८१२ जनाको ज्यान गएको छ । योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार नाघेको छ । भारतमा अहिलेसम्ममा यो संक्रमणबाट एक करोड ७० लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

भारतमा हाल २८ लाख १३ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने हालसम्म १ करोड ४३ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । भारतको राजधानी दिल्ली सबैभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु भएकाहरुको दाह संस्कार गरिएको तस्वीर र भिडियोहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल भईरहेका छन् ।

यतिमात्रै होइन अक्सिजनको अभावमा कोरोना संक्रमितहरुको ज्यान जान थालेको छ । इण्डिया टुडे अनलाइनमा प्रकाशित समाचार अनुसार दिल्लीको जयपुर गोल्डेन हस्पिटलमा अक्सिजनको अभावमा २५ जनाले ज्यान गुमाएका छन् । यस्तै टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार दिल्लीस्थित गंगाराम हस्पिटलमा पनि अक्सिजन समयमा आपुर्ती नुहँदा २५ जना संक्रमितको ज्यान गएको छ।

अहिले सामाजिक सञ्जालमा भारतका विभिन्न हस्पिटलको भयावह दृश्यहरु भाइरल भईरहेको छ जसले आम सर्वसाधारणलाई त्रसित मात्रै बनाएको छैन सचेतनाको सन्देश पनि दिएको छ । कोरोनाले आक्रान्त भारतको भयावह रुपले विश्व समुदायको ध्यान खिचेको छ । त्यसो त बेलायतले भारतमा भेन्टिलेटरसहित आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् । कोभिड विरुद्धको खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थ निर्यातमा अमेरिकाले लगाएको प्रतिबन्ध हटाएको छ।

विश्वका अधिकांश देशहरुले भारतसँगको यातायातलाई कडाइ गरेका छन् । तर, बिडम्वना खुला सीमाना रहेको नेपालले खासै प्रभावकारी कदम चाल्न सकेको छैन । कोरोनाको फैलावट बढेसँगै रोजगारीका लागि भारत पुगेका नेपाली धमाधम घर फर्किन थालेका छन् । उनीहरुलाई क्वारेन्टीन र आइसोलेशनको राम्रो ब्यवस्था हुन सकेको छैन।

उच्च सुरक्षा सतर्कताका साथ भारतको भ्रमण गरी फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ती समेत कोरोना संक्रमित भई उपचाररत छन् ।
अहिले तराईका अधिकांश हस्पिटलहरु कोरोना संक्रमित बिरामीले भरिन थालेका छन् । देशकै राजधानी काठमाडौंको अवस्था पनि उस्तै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि तोकेको १३ वटा अस्पतालका बेडहरु करिब करिब भरिन लागिसकेको अवस्था छ । धेरै जसो अस्पताल जटिल अवस्थामा संक्रमित भर्ना गर्न नसक्ने अवस्थामा पुगिसकेको छ।

यही कुरालाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघले अस्पतालहरुमा अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाई कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा थप ३ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।काठमाडौं उपत्यकामा मात्रै १ हजार ९१२ जनामा संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १ हजार ५६७ जना, ललितपुरमा २२३ जना र भक्तपुरमा १२२ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ सोमवार थप १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ।

कोरोनाको संक्रमण तीव्रदरमा फैलिएपछि सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निणर्य गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातालाई निषेधाज्ञा जारी भएको छ । यस्तै बाँके, बर्दिया, नेपालगञ्ज, कोहलपुर, कैलाली, कास्कीलगायतका जिल्लाहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?