गण्डकी प्रदेशको बैठक बस्दै, अविश्वासको प्रस्तावबारे छलफल हुने

काठमाडौं । गण्डकी प्रदेशको प्रदेश सभाको बैठक आज बस्दैछ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा छलफल हुनेछ । आजको बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुले आ(आफ्नो धारणा राख्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत वैशाख २ गते मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वासको प्रस्ताव आउनु पहिले नै वैशाख १ गते राति नै प्रदेश सभाको चालू सातौँ अधिवेशन हठात रुपमा अन्त्य गरिएको थियो । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए । यसैगरी कांग्रेससहित अन्य विपक्षी दलहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेशप्रमुख समक्ष पत्र बुझाएका थिए ।

२७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ मत आवश्यक पर्छ । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्  । यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् ।

बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?