बलिदान बिर्सेको लोकतन्त्र !

लोकपथ
234
Shares

अनिता आचार्य-

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगतको
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँसता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रहमा शहीदहरूको सम्झनामा शिर्षकमा कवि भूपी शेरचनले लेखेका यी कविताका शब्दले जोकोहि देशभक्तलाई तरंगित बनाउँछ । तर बिडम्बना ! देशका पीरले परिवर्तनका खातिर रगतको भेटी चढाउने वीर सहिदका सपना पूरा हुन सकेका छैनन् । तिनै सहिदका रगतले पोतिएका इतिहासमाथि टेकेर सत्तामा पुगेकाहरु सहिदका मुल मुद्धा र एजेण्डा लत्याएर आफ्नै दुनो सिधा पार्ने खेलमा लिप्त हुँदा वीर सहिदको सपनामाथि कुठाराघात भएको छ नै, तीनका परिवारमाथि समेत भद्धा मजाकसिवाय केहि भएको छैन ।
ढल्दै छ, नेतृत्वसँगको विश्वास
मेरो छातिमा तातो गोली लाग्न सक्छ । म अङ्गभङ्ग हुनसक्छु । ममाथि लाठी र हतियार बज्रिन सक्छ । म घाइते हुनसक्छु । मेरो शरीरभरी बुट बज्रिन सक्छ । मेरो परिवारको बिल्लीबाठ हुनसक्छ । के आन्दोलनमा गएकाहरुलाई यी कुरा थाहा थिएन ? तर देश र जनताको लागि मर्छु भन्ने थाहा हुँदाहुँदै आफ्नो ज्यानको आहुति दिएका वीर सहिदका परिवारको आँखा ओभाएका छैनन् । मनमा अनेकन पिर, ताप र शोकको आँधीबेहरी चलेको छ । तर बिडम्बना यति नै बेला नेतृत्वप्रतिको अथाह विश्वास गल्र्याम्म ढलेको छ । कारण – अस्थिरता ।

०६२ /०६३ को जनआन्दोलनका बेला सहादत प्राप्त गरेका सहिद यमलाल लामिछाने (५२) का छोरा द्रोण न्यौपानेलाई जब लोकतन्त्र दिवस आउँछ तब सहिदका नाममा नेतृत्वले खर्चने शब्दले झनै उकुसमुकुस बनाउँछ । राजनीतिक आंकाक्षा र एजेण्डा सम्बोधन गर्न भएको आन्दोलनको मुलमुद्धा र प्रतिबद्धता भुलेर सत्ता र कुर्सीको खेलमा झुम्मिएको नेतृत्व देख्दा उनी विरक्तिएका छन् । उनीजस्तै बुबा गुमाएका छोराछोरी, सिउँदो पुछिएकी नारी हुन्, काख रित्याएका आमा, विलखबन्दमा परेको परिवार देखेर बेलाबेलामा भक्कानिन्छन् उनी । ‘त्यो आन्दोलनमा जनताले ज्यान दिए । नेतृत्वले खै त स्थिरता दिन सकेको ?’ उनी प्रतिप्रश्न गर्छन् । राजनीतिक मुद्धा संस्थागत भएपछि अब आर्थिक समृद्धि र समुन्नतीको बाटोमा हिँड्नुपर्ने हो । तर जनताको बलिदानी नेतृत्वले आफू सत्तामा पुग्ने भर्याङका रुपमा मात्रै प्रयोग गरे । यो प्रवृत्तिले गर्दा लोकतन्त्र झनै कमजोर हुँदै गएको अनुभुति भएको छ उनलाई । ‘सहिद परिवारका लागि नेतृत्वसँग ठूलो केहि अपेक्षा छैन । तर जनजीविकासँग जोडिएका मुद्धा किनारा नलगाइयोस् । जनतालाई आत्मनिर्भर र अधिकारसम्पन्न हुने बाटोमा काम होओस्,’ उनी थप्छन्,‘गर्वबोध गर्न सकौँ,हाम्रो परिवारको सदस्य गुमाए पनि सरकार र नेतृत्वले हामीलाई अभिभावकत्व दिएको छ ।’

सहिद ट्याग नै बेवारिसे !
सुन्दा अनौठो लागेतापनि यो हाम्रै नमिठो यथार्थ हो । वर्तमान नेपाली राजनीतिक चरित्र यति अनुदार भइदियो कि देशका लागि ज्यान दिने सहिदको सपना पूरा गर्नुको साटो सडक दुर्घटनादेखि इन्काउन्टरमा मारिएका सम्मलाई जोरजुलुम गरी सहिदको माग गरेमा सरकारले सुरुक्क दिने सहिदको ट्याग र राहत बाँडेजस्तो गरी दिने १० लाख रुपैयाँका कारण वास्तविक सहिदको मर्ममाथि आघात पुगेको छ । यस्तो गलत परिपाटीका कारण देश परिवर्तनको लागि बलिदानी गर्ने सहिदप्रति झनै अपमान भएको महशुस गर्दैछन् सहिद परिवार ।
सहिद प्रधुम्न खड्का (३१) की श्रीमती प्रभा खड्का लोकपथको यो प्रश्न सुनेर केहिबेर भावविह्वल भईन् । मौनता चिर्दै उनी प्रतिप्रश्न गर्छिन्, ‘एकपटक गम्भीर भएर सोचिदिनुहोस् त देश र जनताका लागि ऐतिहासिक उपलब्धीका लागि गोली खानु र भवितव्य दुर्घटना हुनुमा कति फरक छ ?’ किन यस्तो गम्भीर कुरा यति हलुका बनाइयो ? उनी चिन्तित छिन् । सहिदको मर्म के थियो ? त्यो आन्दोलनको आशय के थियो ? आज हामी कहाँ छौँ ? जनआन्दोलनमा सहादत प्राप्त गरेका, अङ्गभङ्ग भएका, घाइते भएका, बेपत्ता, उपचाररत सबैलाई सरकारले बिर्सिएजस्तो लागिरहेको छ ।

देशका लागि ज्यानको बलिदानी ! यो सानो प्रयास वा इच्छाशक्तिले हुने कुरा हुँदै होईन । यहाँ त कुर्सीको लडाँई चलिरहेछ । ‘त्यसमाथि सहीद विषय निकै सस्तो बनाइयो । राजनीतिक आस्था वा दवाबको नाममा सहिद जस्तो शब्दलाई कति हलुका बनाइयो । निकै दुख लाग्छ,’ उनी भावुक सुनिइन् । भन्छिन्, ‘देश र जनताका लागि मैले मेरो सिन्दूर गुमाएकी छु । तर मलाई आजको नेता र नेतृत्वको प्रवृत्ति हेर्दा वितृष्णा जाग्छ । म जस्तै सहीद परिवारको आँशुमाथिको फोहोरी राजनीति कत्तिपनि चित्तबुझ्दो छैन । खड्कासँग सहमत छिन् सहिद भरत ढुंगाना (३९) की छोरी कविता ढुंगाना । ‘जब हामीले हाम्रो भरोसा गुमायौँ तब सरकार हाम्रो अभिभावक बनिदिनुपथ्र्यो । जनताका नैसर्गिक अधिकार र आधारभुत आवश्यकता पुरा गर्न सरकारले लाचारी देखाउनुहुन्न, ’कविता थप्छिन्, ‘सहिदको नाम अगाडी विरविरङ्गना जस्ता ट्याग झुण्डाइदिने तर उनीहरुको मर्म, भावना र सपना जीवित पार्ने प्रयत्न नगर्ने नेपाली नेतृत्वप्रति आममानिसमा वितृष्णा उत्पन्न हुनु स्वभाविक हो ।’

लोकतन्त्रमा शासकभन्दा संवैधानिक सर्वोच्चता माथि रहन्छ भनियो । तर ब्यवहारमा यसको ठिक उल्टो भएको छ । बरु बलमिच्याइका शृंखलाले लोकतन्त्र दिनानुदिन खतरामा पर्दै गइरहेको छ । सत्ताको आडमा भ्रष्टाचार मौलाइरहेको सन्दर्भप्रति खेद ब्यक्त गर्दै सहिदपुत्र द्रोण न्यौपाने थप्छन्,‘समुन्नत नेपाल निर्माणको सपना देखेकामाथि सरकारले गरेको कुठाराघात निन्दनिय छ ।’

नेतृत्वले सहिदको सहादतबाट प्राप्त उपलब्धीको बेलैमा रक्षा गर्नुपर्ने भन्दै सहिद बासुदेव घिमिरे २६ का बुबा ७५ वर्षिय कृष्णप्रसाद घिमिरेले उनी कवि भूपी शेरचनका यी हरफ सम्झाएका छन् ।

…हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेको सहिदको प्यारो लासले धिक्कार्ला
धर्तीले मुख लाजले छोप्ला आकाशले धिक्कार्ला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?