सुदूरका दुर्गम बाजुरा र दार्चुलाका किशोरीलाई आत्मरक्षा तालिम

RSS
39
Shares

टेकसिंह धामी, धनगढी । सुदूरपश्चिमका दुर्गम जिल्ला बाजुरा र दार्चुलामा किशोरीहरूलाई आत्मरक्षा तालिम दिन थालिएको छ । दुर्गममा किशोरी, बालिकाहरू बलात्कृत हुने क्रम बढेपछि विभिन्न संघ संस्थाहरू सेल्फ डिफेन्स (आत्मरक्षा) तालिम दिन थालेका हुन् ।

बाजुरा बुढीगंगा नगरपालिकाका १० विद्यालयमा किशोरीहरूलाई तालिम दिन सुरु गरेको हो । गलत नियतले हात समाते, पछाडिबाट अँगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौन हिंसाको प्रयास भएमा त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने उपायबारे जानकारी गराइएको आत्मरक्षा तालिम दिइएको बाजुरा पिसविन सामुदायिक विकास परियोजना संयोजक टेकबहादुर थापाले बताए ।

उनले भने, ‘यो तालिमले बालिका तथा किशोरीलाई आत्मरक्षा गर्न आत्मबल पुगेको छ । बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, अनुहार चिथोर्ने, शरीरमा टोक्ने वा संवेदनशील अंगमा प्रहार गर्ने लगायतका उपायबारे जानकारी हुँदा बालिका तथा किशोरी पनि खुसी भएका छन् ।’ बाजुरामा प्रशिक्षक प्रकाश चन्द, कल्पना पाल र मेनुका वडले प्रशिक्षण गरिरहेका छन् ।

बुढीगंगा नगरपालिकाका २४० जनाभन्दा बढी किशोरीहरूलाई आत्मरक्षा तालिम दिइएको छ । तालिममा विद्यालयमा अध्ययनरत किशोरी क्लब र बाल क्लबका किशोरीहरूलाई सहभागी गराइएको छ । तालिम एक ठाउँमा २ दिनसम्म सञ्चालन गरेर ६ ठाउँमा १२ दिनसम्म सञ्चालन गरिएको पिसविन विकास सहायक गोमति कटुवालले जानकारी दिइन् ।

विद्यालय जाने बेला नै असुरक्षित महसुस गरिरहेका किशोरीहरू आत्मरक्षा तालिम पाउँदा खुसी भएका छन् । बुढीगंगा धुरालशैन माविमा कक्षा १० मा अध्ययनरत किशोरी माया उपाध्यायले छोटो समयको आत्मरक्षा तालिम पाउँदा आत्मबल बढेको बताइन् ।

उनी जस्तै आसिका थापा पनि दुई घण्टाको दूरी पार गरेर विद्यालय पुग्छिन् । ‘बाटोमा एक्लै हिँड्दा कसैबाट पीडित हुन्छु कि भन्ने उनलाई डर लागिरहन्थ्यो’, उनले भनिन्, ‘आत्मरक्षा तालिम पाएपछि भने टोलका सबै किशोरीहरूसँगै विद्यालय एक साथ आउने गरेका छौँ ।’

सुदूरपश्चिममा महिलामाथि दुव्र्यवहार भइरहेका घटना बाहिर आएका छन् । यस्ता दुर्व्यवहार बढ्दै गएकाले छोरीहरूलाई तपाईंहरू पनि कमजोर हुनु हुन्न है भनेर मनोबल बढाउन, आफ्नो सुरक्षा आफैं गर्न सक्नुहुन्छ भन्ने कुरा सिकाइएको तालिमका प्रशिक्षक सपना रोकायाले बताइन् ।

उनले भनिन्, ‘हाम्रा शरीरका यस्ता संवेदनशील अंगहरू छन् त्यहाँ अलिकति छुँदा पनि सहजै फुत्किन सक्ने, प्रतिकार गर्न सक्ने, आफूसँग भएका सामानलाई प्रयोग गरेर जस्तै कलम, क्लिप काँटा र हातको प्रयोग गरेर आइपरेको घटनालाई प्रतिकार गर्न सकिन्छ ।’

यस्तै दुर्गम जिल्लामा दार्चुलामा ५ सय बालिका र किशोरीलाई सेल्फ डिफेन्स (आत्मरक्षा) तालिम दिइएको छ । जिल्लाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिका ६ वटा विद्यालयका बालिका तथा किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको हो ।

महाकाली नगरपालिकाको राष्ट्रिय मावि दत्तुका १०५ जना, मालिकार्जुन गाउँपालिकाको सरस्वती मावि सेलिचामाका ७५ जना, मालिकार्जुन मावि मडका १३५ जना, कृष्ण मावि डाडाकोटका ११० जना, सरस्वती मावि उकुका सय जना र शंकरपुर मावि पस्तीका १०२ जनालाई आत्मरक्षा सम्बन्धी तालिम दिइएको हो । बालिका र किशोरीलाई यौन हिंसाको प्रतिकार गर्ने उपाय सिकाउन स्कुलमै आत्मरक्षा तालिम दिन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?