स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका संग्रहालय

RSS
7
Shares

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका संंग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ । विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यालय प्रमुख सन्दीप खनाल बताउछन् । चैत दोस्रो सातासम्म संग्रहालयमा दैनिक ३०० भन्दा बढी अवलोकनकर्ता आउँथे । अहिले भने कोरोना त्रासका कारण आगन्तुक घटेका छन् ।

संग्रहालय प्रवेश गर्न मास्क अनिवार्य गरिएको छ । समितिका तर्फबाट प्रवेशढोकामा स्यानिटाइजर राखिएको उनले जानकारी गराए । संग्रहालयभित्र एकपटकमा २५ जनाभन्दा बढी अवलोकनकर्ता नपठाउने गरी व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय संग्रहालय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ भौतिक दूरी कायम गरेर सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार अवलोकनकर्तालाई प्रवेश दिइएको बताउछन् । कोरोनाका बिरामी बढ्न थालेपछि अवलोकनकर्ता पनि घट्न थालेको उनले सुनाए ।

छाउनीमै रहेको मुद्रा संग्रहालयमा पनि फाट्टफुट्टमात्र अवलोकनकर्ता आउने गरेका छन् । संग्रहालय स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको कार्यालय प्रमुख प्रतिमा रञ्जितले जानकारी दिइन् ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिअन्तर्गत चलिरहेको नारायणहिटी संग्रहालयमा पनि १० दिनअघिदेखि आन्तरिक पर्यटक घट्न थालेका छन् । समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल हाल स्वास्थ्य मापदण्ड पालना गरेर संग्रहालय र गणतन्त्र स्मारक खुला गरिएको बताउछन् ।

राजधानीका संग्रहालयमा विसं २०७६ चैत ११ गते बन्दाबन्दी जारी गरेपछिदेखि नै बाह्य पर्यटक आएका छैनन् । आन्तरिक पर्यटकका भरमा चलेका संग्रहालय नयाँ भेरियन्टसहितको कोभिड– १९ का संक्रमित देशका मुख्य शहरमा बढ्न थालेपछि आन्तरिक अवलोकनकर्ता पनि घट्दै जान थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?