धरहरा पुगेर मुख्यमन्त्री पौडेलले भने- ‘नेपाली जनताको स्वाभिमान ठडियो’

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नवनिर्मित धराहराको अवलोकन गरेका छन् ।

शुक्रवार (आज) धरहराको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले धरहरा मात्रै ठडिएको नभई नेपाली जनताको स्वाभिमान ठडिएको बताए । प्राकृतिक प्रकोपबाट ध्वस्त संरचनाहरु उठेका र उठ्नेक्रम जारी रहेको बताए ।

सरकार नेपाली जनताको वर्षौँदेखिको सपना पुरा गर्न लागिपरेको बताए । ‘भूकम्पले ढालेका लाखौं घरहरू ठडिए, हजारौं विद्यालयहरु ठडिए, हजारौं मठ, मन्दिर, चर्च, गुम्बाहरु ठडिए, ऐतिहासिक धरोहरहरु ठडिए र ठडियो हाम्रो धरहरा ! यो केवल धरहरा मात्रै ठडिएको होइन , नेपाली जनताको स्वाभिमान ठडिएको हो । प्राकृतिक प्रकोपले ध्वस्त पारेका संरचनाहरु उठेका छन् र उठ्ने क्रममा छन् । सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन छ भन्ने उदाहरण पनि हो सम्पदाहरुको पूननिर्माण ।’ उनले भने ।

त्यस्तै विभिन्न पूर्वाधारहरु निर्माण गर्न सरकार लागि परेको बताउँदै सरकार सुखी नेपाली समृद्ध नेपाल निर्माणको महान लक्ष्यतर्फ अघि बढेको बताए । उनले भने- ‘बन्दै गरेका बाटाहरु, पूलहरु, सुरुङ्गहरु, अस्पतालहरु, विमानस्थलहरु, कलकारखाना तथा कृषि उद्यमहरु हेर्दा लाग्छ साच्चैनै हाम्रो पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान लक्ष्यतर्फ अगाडि बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?