ओली-नेपालको भेटघाटमा गोकर्ण विष्टको प्रतिक्रिया- ‘कार्यकर्तामा आशा पलायो’

काठमाडौं । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटघाटलाई सकारात्मक रुपमा हेरिएको छ ।

बुधवार साँझ ओली-नेपालबीचको भेटघाटका विषयमा प्रतिक्रिया दिँदै एमाले नेता गोकर्ण विष्टले कालो बादलमा चाँदीको घेरा भेटिएझै भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता विष्टले ओली-नेपालबीचको भेटघाटले कार्यकर्ताहरुमा आशा पलाएको बताएका छन् ।

उनले भने- ‘हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबिच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा भेटिएझैं कार्यकर्ताहरूमा आशा पलाएको छ । विलियम शेक्सपियरले भनेजस्तै : जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान संभव छ । हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खंदैन ।’

कवि विलियम शेक्सपियरको भनाइलाई उदृत गर्दै जस्तोसुकै कठिन परिस्थितिमका पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान गर्न सकिने बताए ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला ओली नेपालबीच बुधवार साँझ एक होटलमा भेटघाट भएको हो । एक अर्कालाई आक्षेप लगाउँदै आएका ओली-नेपालबीचको भेटघाटले नेताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?