ओलीविरुद्ध रिट लिएर सर्वोच्च पुगे नेपाल-खनाल पक्ष, यसकारण भएन निवेदन दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रिट लिएर वरिष्ठ नेताद्वय माधवुकमार नेपाल र झलनाथ खनाल पक्ष सर्वोच्च अदालत पुगेको छ ।

बुधवार नेता नेपाल, भीम रावल र घनश्याम भुसालले ओलीविरुद्धको रिट लिएर सर्वोच्च पुगे पनि रिट दर्ता हुन सकेको छैन ।

नेपाल-खनाल पक्षले ओलीविरुद्ध रिट लिएर सर्वोच्च पुगेपनि आज उक्त रिट दर्ता हुन नसकेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले लोकपथलाई जानकारी दिए ।

‘रिट निवदेन लामो भएको र त्यसबारे अनुसन्धान गर्नुपर्ने भएकाले आज दर्ता हुन नसकेको उनले बताए । उहाँहरुले ५० पृष्ठ लामो रिट निवेदन लिएर आउनुभएको छ । तर त्यसबारे अध्ययन गर्न समय नपुगेकाले आज दर्ता गर्न सकिएन ।’ उनले भने ।

त्यस्तै उक्त रिट निवेदनका विषयमा छलफल गरि छिट्टै दर्ता हुने वा नहुने निर्णय हुने उनले बताए ।  उनले भने- ‘त्यसबारे छलफल भएपछि दर्ता गर्न मिल्ने वा नमिल्ने निर्णय हुन्छ ।’

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटी खारेज गर्दै महाधिवेशन कमिटी बनाउने र आफूहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णयका विरुद्द नेपाल-खनाल पक्ष सर्वोच्च पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?