सरकारले ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको निर्माण व्यवसायीको गुनासो

लोकपथ
0
Shares

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दा बढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आज (बुधवार) पत्रकार सम्मेलन आयोजना गरी सरकारबाट विभिन्न आयोजनामा परिपक्व भएको बिल बापतको ६५ अर्ब रुपैयाँ बढी रकम पाउन बाँकी रहेको बताएका हुन् ।

कतिपय आयोजनाको म्याद थप नगरिदिएको कारण परिपक्व भएको बिल भुक्तानीका लागि पेस गर्न नपाएको समेत उनीहरुको भनाई छ । महासंघका अध्यक्ष रवि सिंहले चालु आर्थिक वर्षमा म्याद थप नभएका आयोजनामा मात्रै ६५ अर्ब रुपैयाँ बढी भुक्तानी लिन बाँकी रहेको बताए । त्यस बाहेक पनि भुक्तानीका लागि माग भएको अवस्थामा समेत भुक्तानी नभएको उनले बताए । समय अवधि पुरा भएका आयोजनाको म्याद थप नभएको अवस्थामा कानूनी रुपमा नै निर्माण कम्पनीले बिल पेस गर्न नपाउने हुँदा रकम निकाशाका लागि माग गर्न नसकेको बताए ।

सरकारले आयोजनाको म्याद थप नगर्ने र भुक्तानी पनि नहुने स्थिति आएमा आफूहरु सडक आन्दोलन गर्न बाध्य हुने पनि अध्यक्ष सिंहले बताए । म्याद सकिएका कुनैपनि आयोजनाको तत्काल म्याद थप गर्न पनि माग गरे ।

पत्रकार सम्मेलनमा महासंघको २२ औं साधारणसभाले जारी गरेको ४१ बुँदे घोषणा पत्र सार्वजनिक गरिएको छ । जसमा ‘सार्वजनिक खरिद ऐन–२०६३’का कतिपय प्रावधनलाई संशोधन गरिनुपर्ने माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?