त्रिकोणात्मक सिरिज : मलेसिया र नेदरल्याण्ड्सको खेल बराबरीमा टुङ्गिदा नेपालको फाइनल यात्रा सुनिश्चित

काठमाडौं । ट्राई नेसन्स टी- ट्वान्टी सिरिज अन्तर्गत त्रिवी क्रिकेट मैदानमा आज खेलिएको ५ औं खेलमा नेदरल्याण्ड्स र मलेसियाको खेल बराबरीमा टुंगिएको छ ।

वर्षाले प्रभावित खेलमा डक्वार्ड लुइस मेठडको प्रयोग गरिएको थियो । टस जितेर बलिङ रोजेको मलेसियाले नेदरल्याण्ड्सलाई १३ ओभरमा १०७ रनमा रोक्न सफल भएको थियो । नेदरल्याण्ड्स का ब्याट्सम्यान बेन कुपरले आजको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए। उनले आज ३२ बलमा ५४ रनको पारी खेलेका थिए ।

जवाफमा डी/एल मेठडका कारण १३ ओभरमा १२० रनको लक्ष्य बोकेर मलेसियाको टोली ब्याटिङमा उत्रेको थियो। वर्षाले फेरि केही बेर खेल रोकिँदा खेललाई १० ओभरमा झारियो। ९२ रनको चुनौती पाएको मलेसियाले ४ विकेट गुमाउँदै ९१ रन मात्र बनाउन सफल भयो।

अन्तिम ओभरमा मलेसियालाई ७ रनको खाँचो हुँदा नेदरल्याण्ड्सका विवियन किङमाले उत्कृष्ट डेथ ओभरको नमूना प्रस्तुत गरे। उनले खेलको अन्तिम ओभरमा १ विकेट सहित मलेसियालाई ६ रन मात्र बनाउन दिए ।

सुपर ओभर नभएपछि आजको खेलमा दुबै टोलीले १-१ अंकमा चित्त बुझाउनु परेको हो । मलेसियाले आजको खेलमा जीत निकाल्न नसकेको हुनाले नेपाल र नेदरल्याण्ड्सको फाइनल यात्रा पक्का हुन पुग्यो।

नेदरल्याण्ड्सको ४ खेलमा २ जीत र १ बराबरी सहित ५ अंक रहेको छ भने नेपालको ३ खेलमा २ जीत सहित ४ अंक रहेको छ। मलेसियाले भने अहिले सम्म १ अंक मात्र जोड्न सफल भएको छ।

अब नेपालले आफ्नो अन्तिम समूह चरणको खेल भोलि (बिहीवार) मलेसियासँग त्रिवी मैदानमा खेल्ने छ । मलेसियासँग गुमाउनको लागि केही बाँकी नरहँदा नेपाललाई भोलिको खेल चुनौतीपूर्ण हुनेछ । आयोजक राष्ट्र नेपाल भने भोलिको खेलमा जीत निकाल्दै समूह चरण विजेता हुन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?