केपी ओलीको नेतृत्वमा हुने निर्वाचन निष्पक्ष हुनै सक्दैन : प्रदीप पौडेल (अन्तर्वार्ता)

लोकपथ
104
Shares

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा अन्य राजनीतिक दलहरुलाई मिलाएर सरकारको नेतृत्व गर्न किन सकिरहेको छैन ? आम जनताले यसको जवाफ खोजिरहेका बेला कांग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य प्रदीप पौडेलसँग लोकपथले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

पार्टीको केन्द्रीय समितिले सरकारको नेतृत्व गर्ने निर्णय लिइसक्दा पनि कांग्रेसले सरकारको नेतृत्व लिन किन सकिरहेको छैन ?
कांग्रेसले संस्थागत रुपमा निर्णय गरेको के हो भने पहिले वर्तमान प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । राजनीतिक,नैतिक र वैधानिक पक्षबाट केपी ओलीज्यू प्रधानमन्त्रीका रुपमा रहिरहन मिल्दैन । हामीले वैकल्पिक सरकार गठन गर्ने सन्दर्भमा केपी ओली बाहेक अरु ‘पोलिटिकल लिगेसी’ लाई जोडेर सहमतिका आधारमा सरकार गठन गर्ने अवसर मिल्यो भने त्यसको नेतृत्व गर्न कांग्रेसले पहल गर्नेछ भनेका हौँ ।

के यसका लागि साझा सहमति जुटाउने प्रयास भएको छ ?
हामीले मात्र सरकार बनाउन सक्ने स्थिति छैन । मिलिजुली सरकार बनाउन अरु राजनीतिक शक्तिसँग पनि मिल्नुपर्छ । यसैले कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरामा साझा सहमति जुट्न सक्छ भने प्रधानमन्त्रीमा ओलीको विकल्प खोजौं भनेर यो निर्णय गरेका हौं ।

सरकारको नेतृत्व कांग्रेस बाहेक अन्य दलले गर्ने सम्भावना छ ?
कांग्रेस बाहेक अरुको नेतृत्वमा सरकार बन्न सक्छ भने त्यसमा पनि हामी सहजीकरण गर्न तयार छौँ । तर राजनीतिमा नैतिकता नै हुदैन र गणितका आधारमा सबैथोक गर्न पाइन्छ भन्ने होइन । ओलीको विकल्प कुनै पनि हालतमा दिनुपर्छ भन्ने आशयले त्यो निर्णय गरेका हौँ । यदि नयाँ सरकार बन्ने परिस्थिती बन्यो भने कांग्रेसले नै सरकारको नेतृत्व गर्नै पर्छ भन्ने छैन ।

तर कांग्रेस नेतृत्वमा यो सरकारको विकल्प खोज्ने कुरामा सक्रियता र आक्रमक देखिएन, किन ?
पार्टीको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा चाँही हाम्रो आक्रमकता कम देखियो । यसैले ओलीको विकल्प खोज्न कांग्रेस तयार नभएको हो कि भन्ने टिकाटिप्पणी पनि ब्यापक रुपमा भइरहेको छ । यसलाई चिर्नका नीम्ति आक्रमकता बढाउन जरुरी छ ।

अविश्वास प्रस्ताव पनि नल्याउने अनि सरकारको नेतृत्व पनि नगर्ने काम कांग्रेसले किन गरिरहेको छ ?
विपक्षमै बस्दा पनि सरकारको सहयोगी दलजस्तो देखिनु हुदैन । कांग्रेस विपक्षी भुमिकामा छ,यसैले यो आक्रमक हुनुपर्छ । यसमा हाम्रो पार्टीभित्र असन्तुष्टि छ । त्यसलाई सच्चाउने हामीले प्रयास गरिरहेका छौं ।

कांग्रेसको प्राथमिकता के हो ? निर्वाचन कि सरकारको नेतृत्व ?
हामी निर्वाचन विरोधी होइनौं । किनकी अहिलेको राजनीतिक समस्याको समाधान निर्वाचनले नै दिन सक्छ । तत्कालीन नेकपालाई झण्डै दुई तिहाइको समर्थन थियो,तर उसले सरकार चलाउन सकेन । धरासायी भयो । त्यसको विकल्प दिने भनेको निर्वाचनले नै हो नि । यसैले निर्वाचनमा जाने कुरामा हाम्रो द्घिविधा होइन ।

दुविधा के हो त ?
निर्वाचन कहिले हुने,कसले गर्ने,कसरी हुने ? भन्ने कुरा महत्वपूर्ण कुरा हो ।

के प्रधानमन्त्री केपी ओलीबाट निष्पक्ष निर्वाचन सम्भव छैन ?
छैन । किनकि उहाँलाई प्रधानमन्त्रीका रुपमा हामीले देखिसक्यौँ । उहाँको कार्यशैली हेरीसक्यौँ । उहाँले यो देशमा गर्न खोजेको कुरा पनि हामीले बुझिसक्यौँ । अस्थिरता बढाउने,कब्जा गर्ने,सबै पार्टीभित्र खेल्ने काम उहाँले गर्नुभयो । उहाँका गतिविधिले लोकतन्त्र भत्काउन प्रोत्साहित गरेको देखियो । त्यसो भएकोले अबको निर्वाचन उहाँको नेतृत्वमा हुदै गर्दा निष्पक्ष हुनै सक्दैन ।

फेरी संसद विघटन गरेर निर्वाचनमै जानेतिर नेपाली राजनीति अघि बढिरहेकै हो ?
पछिल्लो समय अदालतले पनि के भनेको छ भने विकल्प दिनसक्ने स्थितीसम्म संसद विघटन हुन सक्दैन । आजको संसदले विकल्प दिनुपर्छ । यो थोरै अवधिमा संसदले नयाँ सरकार गठन गरेर अगाडी बढनुपर्छ । संवैधानिक हिसाबले नै निर्वाचन हुने बाटोमा हामी जानुपर्छ ।

सरकारको भूमिकालाई लिएर सबत्र्र आलोचना भइरहदा पनि प्रमुख प्रतिपक्षको भूमिका निकै कमजोर रहेको आम गुनासो छ । अझ पार्टी नेतृत्व बेलाबखत प्रधानमन्त्री ओलीको सहयोगी जस्तो देखिएको टिप्पणी पनि हुने गर्छ । यस्तो स्थितीमा सरकारको नेतृत्व परिवर्तन होला र ?
आजको दिनमा कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरा त्यति परिपक्व बनिसकेको छैन । यसैले कांग्रेस तम्तयार भएर सरकारको नेतृत्व गरेन भन्ने टिकाटिप्पणी त्यति स्वभाविक लाग्दैन । तर प्रतिपक्षीको भूमिकाका सन्दर्भमा अलि अगाडिदेखि जोडिन्छ । हामी आक्रामक हुन नसकेको टिकाटिप्पणी अस्वभाविक हो भन्ने मलाई लाग्दैन ।

केपी ओली यो स्थितिमा पुगेको संसद विघटनदेखि मात्र होइन । उहाँले धेरै अगाडिदेखि शक्ति संचय गर्न खोज्नुभयो । उहाँको कदमहरु निकै खतरनाक थियो । त्यसमा प्रचण्डजी र माधवजी सहयोगी देखिनुभयो । त्यो बेला कांग्रेस जुध्न सकेन । संसदबाट रोक्न सकिदैन थियो भने सडकबाट आएर रोक्नुपर्थ्यो । संसद विघटन गरेपछि हामीले शहर केन्द्रित आन्दोलन गर्नुपर्थ्यो। जनतालाई संगठित गर्नुपर्थ्यो । त्यो गर्न नसकेकै हो । संसद पुर्नस्थापित भइसक्दा पनि विजनेस विहिन भइसक्दा पनि हाम्रो सभापति लगायत नेताहरु नबोल्ने स्थिती भएकै हो ।

किन र कसको कारणले यस्तो भयो ?
हाम्रो नेतृत्व अलमलिएको हो । उहाँहरुको कार्यशैली नै सबैभन्दा बढी दोषी हो । कुनै पनि बिषयमा प्रष्ट हुन नसकेको हो । परिणामसँग जोडेर त्यसले कति लाभ गर्छ भनेर राजनीति निर्धारण हुदैन । पार्टीको आफ्नो रणनीति हुन्छ । त्यसलाई हामीले उपयोग गर्न सक्नुपर्छ । तर हामी कुनै पनि विषयमा प्रष्ट हुन सकेनौ । नेतृत्वले चपाएर बोल्यो । ब्यक्तिगत लाभको बाटोमा गयौं । जति हामी शशक्त हुनपर्ने हो,जति हामी सच्चिनुपर्ने हो जति हामीभित्र शुद्घिकरण हुनपर्ने हो त्यो नभएकै हो । नेतृत्वलाई कार्यशैली सच्चाउनेगरी दवाव सिर्जना गर्न नसक्नुमा हाम्रो पनि दोष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?