डोटी । डोटीमा एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताए । प्रहरी नायब उपरीक्षक मल्लले भने, “निज युवकको दाजुको गएको शनिवार भारतमा कोरोनाले मृत्यु भएको र उनको घर आएपछि मृत्यु भएपछि कोरोनाले मृत्यु भएको भन्ने आशंका गरिएको छ ।”
जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले मृत्यु भएका व्यक्तिको कोरोना जाँच नगरिएको र भारतबाट घर आएर होम आइसोलेशनमा बसेका बेला मृत्यु भएको भन्ने खबर आएको बताए । उनले भने, “भारतबाट आएर बिरामी हुँदा निज स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुभएन, मृत्यु भएपछि कोरोना जाँच नगर्नू भन्ने सरकारी निर्देशनअनुसार उहाँको स्वाब टेष्ट गरेनौँ ।”
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कोरोनाका कारण मृत्यु भएका भनिएका युवकको सम्पर्कमा आएका व्यक्ति तथा उनको घर परिवारका सदस्यको स्वाब जाँच गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको बताए ।
उनले भने, “मर्ने व्यक्ति त मरिसके, उनको सम्पर्कमा आएका र घर परिवारको स्वाब टेष्ट गर्न भनेको छु, स्वाब टेष्टपछि मृत्युको सबै कारण खुल्ने छ ।”
सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलवार राति आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । जिल्लामा क्वारेन्टाइन निर्माण नगरिएका कारण भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक सीधै गाउँ जान थालेकाले समस्या हुने गरेको बताइएको छ ।
जिल्लामा कोरोनासम्बन्धी कुनै जाँच नभएका कारण र भारतबाट आएका नागरिक सीधै घर आउने गरेका कारण गाउँमा त्रास फैलिएको केआइसिंह गाउँपालिकाका तीर्थराज जोशीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया