कोरोना प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहत दिन माग

काठमाडौं- नेपाल पत्रकार महासंघले कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गरेका हुन्।

महासंघका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन आग्रह गरेका छन्  । उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यवासायिक र मर्यादित हुन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरुलाई प्रत्यक्ष लाभ पुग्ने कोभिडबाट अतिप्रभावित पत्रकारहरुलाई थप लेखन वृत्तिको व्यवस्था गर्न जरुरी रहेको पनि बताए । महासचिव रोशन पुरीले पत्रकार कल्याकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गरे । पत्रकार महासंघका पदाधकारीहरुले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न, नेपाल पत्रकार महासंघको भवनमा पूर्वाधार बढाउन लगायतमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्तत्राको प्रवर्द्धन र व्यवसायिक पत्रकारिताको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताए । उनले आलोचना र प्रश्नहरु लोकतन्त्रका सुन्दर पक्षहरु रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?