त्रिकोणात्मक क्रिकेट : मैदानमा ‘ग्याम्ब्लिङ’ वेबसाइट र मदिराको विज्ञापन तथा खुलेआम बिक्रि

लोकपथ
26
Shares

काठमाडौं । बजाज पल्सर ट्राई नेसन्स टी-ट्वान्टी सिरिजको खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चल्दैछ । १७ अप्रिलबाट शुरु भएको यो प्रतियोगिता २४ अप्रिलमा सकिनेछ। शीर्ष दुई टोली बीच वैशाख ११ गते (शनिवार) फाइनल खेल हुँदैछ।

चाखलाग्दो कुरो के छ भने खेल मैदानभरि ग्याम्ब्लिङ साइट (Dafabet) को विज्ञापन छ भने त्यस्तै यार्सागुम्बा व्हिस्कीको स्टल मार्फत् खुलेआम रक्सि बिक्रि भइरहेको छ । देशमै यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै गर्दा देशको कानूनको भने धज्जी उडाइएको छ । मैदानको टिठलाग्दा गतिवीधि हेर्दा यस्तो लाग्छ, मानौँ देशको कानूनले ‘ग्याम्ब्लिङ’ गर्न छूट दिएको छ। नभए यति ठूलो प्रतियोगितामा ‘ग्याम्ब्लिङ’ साइटको विज्ञापनको अर्थ के ? अझै खेल मैदानमा कोरोनाको महामारी बीच विभिन्न नाममा मदिरा खुलेआम बेचबिखन !

के हो Dafabet ?

मकाती, फिलिपिन्समा अवस्थित Dafabet एक निजी स्वामित्वमा रहेको अनलाइन ग्याम्ब्लिङ कम्पनी हो । यो AsianBGE को फ्ल्यागशिप ब्रान्ड र सहायक कम्पनी हो, यसको इजाजतपत्र क्याग्यान इकोनोमिक जोन अथ्योरिटी (CEZA) बाट छ भने र यसको नियमन फर्स्ट क्याग्यान लेजर एंड रिसोर्ट्स कर्पोरेशन (FCLRC) ले गर्दछ । Dafabet  ले एउटा वेबसाइट सञ्चालन गर्दछ, जसले ग्राहकलाई अनलाइन सुरक्षित अनलाइन ग्याम्ब्लिङ सेवा प्रदान गर्दछ।

कानूनले ‘ग्याम्बिलिङ’ बारे के भन्छ ?

नेपालमा जुवा (ग्याम्बिलिङ ) गैर कानूनी हो। काठमाडौंमा रहेका इजाजतपत्र क्यासिनोमा पनि नेपालीहरू जुवा खेल्न स्पष्ट रूपमा निषेधित छ। स्थानीय प्रहरीले क्यासिनोमा खेल्न प्रतिबन्ध लगाउनका लागि सख्त कडाई गरेको छ । कानून तोड्ने धेरैलाई पक्राउ गरिएको छ र जरिवाना गरिएको छ । दोस्रो वा तेस्रो पटक कानून उल्लंघन गर्नेहरूलाई जेल पठाईन्छ ।

स्मरण रहोस् –  नेपालमा कुनै पनि प्रकारको जुवालाई वैधानिक मानिँदैन ।

नियामक निकाय क्यानको सहमति मै कानूनको मजाक बनाइएको छ। यस विषयमा क्यान महासचिव अशोक प्याकुरेलले ग्याम्ब्लिङ को एप राखिएको स्विकार्दै आइतवार नै हटाइसकिएको र रक्सी खुलेआम बिक्रि नभएको दाबी गरे । लोकपथसँगको कुराकानीमा प्याकुरेल थप्छन्, ‘रक्सीको विज्ञापन पनि हटाइसक्यौँ । खुलेआम बिक्रि हुन दिँदैनौँ ।’

प्रतियोगितामा विज्ञापनको सर्वाधिकार एड प्याड प्रा.लि.सँग रहेको छ र विज्ञापन बिक्रि सम्बन्धि सबै काम सोही कम्पनीले गर्ने गरेको छ ।

हामीले यस सम्बधि विवरण बुझ्न खोज्दा कम्पनीका निर्देशक विकास लामिछाने आफूहरुले कुनै कानून नमिचेको तथा गल्ति नगरेको बताउँछन् ।

मादक पदार्थको विज्ञापन बारेमा सरकारको नियमन

सन् १९९० को दशकको अन्ततिर, नेपालले पहिलो पटक इलेक्ट्रोनिक मिडियामा मादक पदार्थको विज्ञापन प्रतिबन्धित गर्‍यो। नेपाल सरकारले सन् २०१७ मा अतिरिक्त नियन्त्रण लगायो जसले मदिरा कम्पनीहरूलाई प्रिन्ट मिडियामा विज्ञापन प्रकाशित गर्न तथा प्रायोजन सहित कुनै पनि प्रकारका प्रचार गतिविधिहरू गर्न प्रतिबन्ध लगाएको थियो ।

तर अहिलेसम्म पनि विभिन्न बहाना तथा चाडपर्वको बहाना गरेर यदाकदा मदिराको विज्ञापन नभएको भने हैन र नियामक निकायले आँखा चिम्लेको हैन भन्न सकिन्न ।

केहि समयअघि नेपालका डिजिटल वालेटहरु प्रयोग गरेर अनलाइन बेटिङ मौलाएको थियो, जसलाई प्रशासनले हस्तक्षेप गरेको थियो।

नेपालमा अहिले अत्याधिक रुचाइएको खेल क्रिकेट हो ।

फुटबल फ्यानहरुको देश नेपालमा नेपाली युवा माझ क्रिकेट पनि छोटो समयमै उत्तिकै लोकप्रिय बनिसक्यो ।

धेरैभन्दा धेरै युवा दर्शक भएको यस्ता प्रतियोगितामा ग्याम्ब्लिङ साइटको विज्ञापन अनि मादक पदार्थको खुल्ला आम बिक्रीले समाजलाई कतातिर डोहोर्‍याउँदै छ ? युवालाई कतातिर प्रेरित गर्दैछ ? सम्बन्धित निकायले यस्ता कुरामा ध्यान दिनैपर्छ र यस्ता कुरा दोहार्‍याउन नदिन छिटो भन्दा छिटो उचित कदम चाल्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?