माओवादीको स्थायी कमिटी बैठक बुधवार पनि बस्ने, ६ बुँदे कार्यसूची तयार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक भोलि (बुधवार) पनि बस्ने भएको छ।

आज (मंगलवार) बसेको बैठकमा कार्यसूचीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएकाले बुधवार पनि बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बुधवार बस्ने बैठकका लागि विभिन्न विषयसँग सम्बन्धित ६ बुँदे कार्यसूची तयार गरिएको छ।

बुधवारको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्नेछन्। बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव तथा यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे छलफल हुनेछ। यस्तै, आगामी केन्द्रीय कमिटी बैठकबारे पनि बुधवार बस्ने स्थायी कमिटी बैठकमा छलफल हुनेछ।

बुधवारको बैठकमा नयाँ सरकार गठन र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनको विषयमा पनि छलफल हुने नेता श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?