नेदरल्याण्ड्ससँग नेपाल ३ विकेटले पराजित

काठमाडौं- त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलवार नेदरल्याण्ड्ससँग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई २०६ रनको विशाल योगफल खडा गरेको थियो। ओपनर आशिफ शेख खाता नखोली पविलियन फर्के पनि अर्का ओपनर कुशल भुर्तेलले आज पनि अर्धशतक प्रहार गरे। उनले ४६ बलमा ६२ रनको पारी खेल्दा यस प्रतियोगितामा १८५ रन जोड्दै लिडिङ रन स्कोरर बन्न पुगे। २०७ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको नेदरल्याण्ड्सको ब्याटिङ उत्कृष्ट रह्यो।

विस्फोटक ब्याट्सम्यान म्याक्स ओ डावुडलाई सुरुमै पविलियन फर्केपनि नेदरल्याण्ड्सको ब्याटिङमा कुनै कमी देखिएन। २१ वर्षीय बास दे लीडे सम्पूर्ण नेपाली बलिङ यूनिट माथि भारी साबित भए। उनले ४२ बलमा ७ छक्का र ५ चौका प्रहार गर्दै ८१ रनको अविजित पारी खेल्दै म्यान अफ दि म्याच पनि भए।

बेन कुपरसँग राम्रो तालमेल बनाएका लिडेले तेस्रो विकेट को लागि ६८ रनको साझेदारी बनाएका थिए। कपरले पनि आफ्नो अर्धशतक पूरा गर्दै ५५ रनको योगदान दिएका थिए। नेपाली बलिङको लागि आज राम्रो दिन थिएन। सुरु देखिनै डच ब्याट्सम्यानहरु हावी देखिएको क्रम अन्तिम सम्म त्यस्तै रहन पुग्यो। खेलभरी एउटै प्रकारको गुगली मात्रै बल गरका सन्दीप लामिछानेले ४ विकेट लिए पनि ४८ रन खर्चन पुगे।

उनको १८औं ओभरमा नेदरल्यान्ड्सले बनाएको २० रन खेलको टर्निङ पोइन्ट थियो। सन्दीप सँगै अरु सबै बलर महंगा साबित भए। सोमपाल ले आफ्नो २ओभरमा २३, करनले आफ्नो ३.३ ओभरमा ३८ र अभिनाश बोहोराले ४ ओभरमा ४३ रन खर्चिन पुगे। यो जीत सहित नेदरल्याण्ड्सले आफ्नो ३ खेलमा ४ अंक बटुलेको छ। नेदरल्याण्ड्सले फाइनलको यात्रा पक्का गर्न भोलि मलेसियासँग त्रिवी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दै छ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल बिहीवार मलेसियासँग खेल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?