संयमीत हुनुस् भन्दै गोकर्ण बिष्टले नेतृत्वसँग जनाए आपत्ती

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वश्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले एकता पूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँत्याएर विधिमार्फत् समाधान खोज्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेकपा एमालेमा देखा परेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुपर्ने बताएका हुन् ।

आज मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले थप ३२ जना नेतालाई चेतावनीसहितको स्पष्टीकरण सोधेपछि त्यसको प्रक्रियामा बिष्टले यस्तो टिप्पणी गरेका हुन् ।

नेता बिष्टले एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथी कारवाहीका घटनाहरु अघि बढाएकोमा आपत्ती जनाएका छन् । उनले  समस्याको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथी कारबाहीका घटनाहरु अघि बढाइएको र त्यस्ता कारवाहीले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको स्पष्ट पारेका छन् । उनले पार्टी एकताको रक्षा गर्न समेत आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘विगत केहि समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथी कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ । संवादहीनता र कारबाहीको बाटो कुनैपनी हालतमा समाधान हुन सक्दैन । अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ । एउटा इमान्दार कार्यकर्ताकोलागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथी हुन्छ । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?