नेदरल्याण्ड्सलाई २ सय ७ रनकाे लक्ष्य, कुशल र दिपेन्द्रको अर्धशतक

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको बजाज पल्सर ट्राई नेसन्स टी- ट्वेन्टी सिरिजको चौथौं खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्ध ६ विकेटको क्षतिमा २०६ रनको विशाल योगफल खडा गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेका नेपालका कप्तान ज्ञानेन्द्र मल्लको निर्णयलाई नेपाली ब्याट्सम्यानहरुले गलत साबित हुन दिएनन्।

ओपनर आशिफ शेख खाता नखोली पविलियन फर्के पनि अर्का ओपनर कुशल भुर्तेलले आज पनि अर्धशतक प्रहार गरे। उनले ४६ बलमा ६२ रनको पारी खेल्दा यस प्रतियोगिताका लिडिङ रन स्कोरर भएका छन्। भुर्तेलले ३ इन्निंङ्समा १८५ रन प्रहार गरेका छन्। उप कप्तान दीपेन्द्र सिंह ऐरीसँग भुर्तेलले तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गरेका थिए। दीपेन्द्र सिंह ऐरीले पनि आजको खेलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ६० रनको योगदान दिएका हुन्।

नेपालले आजको खेलमा जित निकालेमा एक खेल अगावै फाइनलमा स्थान बनाउने छ। नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई पनि नौ विकेटले नै पराजित गरेको थियो।

यता नेदरल्याण्ड्स आज नेपाललाई हराएर पहिलो खेलको हारको बदला लिने लक्ष्यमा हुने भने फाइनलमा पुग्ने संभावना पनि बलियो बनाउने योजनामा छ। २०७ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको नेदरल्याण्ड्सको ब्याटिङ भर्खरै सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?