प्रदेशसभा सदस्य बोहराको पद रिक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहराको प्रदेशसभा सदस्य पद रिक्त भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्य बोहराले दल त्याग गरेकोसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा दर्ता भएअनुसार नेपालको संविधानको धारा (८) तथा राजनीतिक दलसम्बन्धी ऐन र सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०७४ बमोजिम उनको प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी दिए ।

अछाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित बोहरा हालै नेकपा (एमाले) मा प्रवेश गरेका थिए । प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री बोहरा एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रले दल त्याग गरेकोसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा वैशाख ३ गते दर्ता गराएको थियो । उनलाई माओवादी केन्द्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको थियो ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक जनाको पद रिक्त भएसँगै ५२ प्रदेशसभा सदस्यमा सीमित भएको छ । यसमध्ये नेकपा माओवादी केन्द्र अब १३ जनामा सीमित रहेको छ । एमालेका २५, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना प्रदेशसभा सदस्य रहेका छन् । आजको बैठकमा प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा दफावार छलफल भई तयार पारिएको ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को प्रतिवेदन प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?