चितवनका विद्यालयमा फैलियो कोरोना

RSS
0
Shares

चितवन । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । जिल्लाका चार विद्यालयमा संक्रमणको पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी तथा विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको हो । यस्तै इच्छाकामना गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय रानीखोलाका शिक्षकलाई संक्रमण देखिएको छ ।

भरतपुरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार वाल्मीकिका कक्षा १० का विद्यार्थीलाई संक्रमण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको छ । आइतवार र आज सो विद्यालय बन्द गरिएको हो भने अन्य विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाएर कक्षा सञ्चालन गरिएको छ ।

गुञ्जानगर माविका दुई विद्यार्थी, नारायणीका लेखाका कर्मचारी र इच्छाकामनाका दुई शिक्षकमा संक्रमण देखिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भूमिलाल सुवेदीले बताए । विद्यालयमा कोरोना देखिन थालेपछि अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी त्रसित भएका छन् । कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा आइतवार बसेको पालिकास्तरका शिक्षा शाखा प्रमुख र समन्वय एकाइ प्रमुखको बैठकले वैशाखभित्रमा वार्षिक परीक्षा सक्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । सुवेदीका अनुसार जेठमा गर्ने भनिएको वार्षिक परीक्षा वैशाखभित्रमा सम्पन्न गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।

निजी विद्यालयको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का प्रतिनिधिसँग आज सोमवार छलफल गरिँदै छ । यहाँ हिजो आइतवार मात्रै २२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कञ्चनपुरमा विद्यालय बन्द

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा हिजो आइतवार एक शिक्षकलाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । यहाँस्थित भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्रप्रसाद भट्टलाई कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण गरेका शिक्षक भट्टसँगै उनकी श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि शिक्षक भट्टले आफ्नो सम्पर्कमा रहेका अन्य शिक्षक तथा विद्यार्थीसमेतलाई परीक्षणका लागि आग्रह गरेका छन् ।
विद्यालयका अन्य १६ शिक्षकको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको विद्यालयले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरमा आइतवार भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका नौ व्यापारीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भारतबाट गड्डाचौकी हुँदै स्वदेश फर्किरहेका एक र ब्रह्मदेवमा नौ गरी दशमा कोरोना संक्रमण देखिएको बताए ।

भारतमा पूर्णागिरी मेला शुरु भएसँगै सीमावर्ती नेपाली ब्रह्मदेव बजारमा चहलपहल शुरु भएको थियो । केही दिनअघि पनि ब्रह्मदेवमा छ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?