सुदूरपश्चिम प्रदेश : चार पार्टीको एउटै रणनीति ‘पर्ख र हेर’

टेकसिँह धामी/धनगढी- सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको चर्चाका बिच चार पार्टीहरुले केन्द्रकै निर्णय कुरिरहेका छन् । केन्द्रिय राजनितिक कदमको प्रत्यक्ष्य प्रभाव प्रदेश सरकारमा समेत पर्ने भएकाले दलहरुले निर्णय कुरिरहेका हुन् ।

पछिल्लो ३ महिनायता सुदूरपश्चिम सरकार फेरबदलसँगै नयाँ गठबन्धनको सरकार बन्ने कसरत शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीचको नयाँ गठबन्धनको सरकार बन्नेबारे छलफल शुरु भएको स्रोतले जनाएको छ ।

कांग्रेस

एमालेभित्रको खिचातानीले प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य थालिसकेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने, ‘देश तरलतामा उभिएको छ । नेकपालाई जनताले केन्द्र र प्रदेशमा २ तिहाइ दिएका थिए ।

तर उहाँहरुको अकर्मण्यताका कारणले देश धरासयी अवस्थामा छ । अब यस अवस्थामा नेपाली कांग्रेसको भुमिका आवश्यक परेमा, यो ३ वर्षमा गर्न नसकेको काम हामीले गर्न सक्छौ ।’

नेता रावलले नयाँ सरकार गठन वैशाख महिनाभित्रै हुने समेत दाबी गरेका छन् । उनले वैशाख महिनाभित्रै गठनको काम हुने र उनहरुको पनि केन्द्रदेखि प्रदेशसम्मको आ–आफ्नै माग रहेकाले आफुहरु छलफलमै रहेको बताए ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार आफूहरु प्रदेशमा अघि बढ्ने रावलको भनाई छ ।

माओवादी केन्द्र

सुदूरपश्चिम प्रदेशमा हाल माओवादी केन्द्र नेतृत्वको सरकार छ । सत्तासिन माओवादी केन्द्रले भने प्रदेश सरकार सुरक्षित रहेको दावी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलले नयाँ सरकारबारे हालसम्म कुनै छलफल नभएको बताए । तथापी माओवादीले पनी केन्द्रकै निर्णय कुरिरहेको बुझिएको छ ।

जसपा

प्रदेश सरकारको प्रतिपक्षी दल जसपाले भने नयाँ सत्ता समिकरणबारे कुनै दलसँग छलफल नभएको दाबी गरेको छ । आफुहरुको माग मुद्दाबारे केन्द्रीय सरकारसँग छलफल जारी रहेकोले आफुहरु पर्ख र हेरको अवस्थामा रहेको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीले बताए ।

एमाले

एमाले नेता तथा प्रदेशसभा सदस्य पठानसिंह बोहोराले सुदूरपश्चिम प्रदेश सरकारको विषयमा केन्द्रकै निर्णय कुरेर बसेको बताए ।

उनले भने, ‘यसका लागि हामी केन्द्रीय कमिटीको निर्देशन पर्खिएर बसेका छौं । अहिलेसम्म सरकारलाई दिएको समर्थन जारी नै छ । माथिबाट निर्णय आएपछि त्यही अनुसार अघि बढ्छौँ।’

यस्तै नेकपा एमालेका अर्का सांसद रतन थापाले आफ्नै पार्टीका सांसदहरू एकढिक्का नभइसकेकोले अविश्वास प्रस्ताव ल्याउन हतार गर्न नहुने बताए ।

‘अहिले हाम्रा २५ जना प्रदेशसभा सदस्य एक ढिक्का भइनसकेको अवस्था छ,’ उनले भने,‘वैशाख ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्छ । माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने वा यही सरकारलाई समर्थन कायम राख्ने भन्नेबारे ८ गतेपछि मात्र थाहा हुन्छ ।’

मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउन पहल गरिने उनले बताए । त्यो अवस्थामा जसपासँग सहकार्य हुन सक्छ, जसपासँग नभए कांग्रेससँग पनि सहकार्य हुने उनको भनाई छ ।
कर्णालीको ‘फ्लोर क्रस’ले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राहत

नेकपा एमालेका सांसदहरुले ‘फ्लोर क्रस’ गर्दै कर्णाली प्रदेश सरकारलाई जोगाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि राहत महसुस गरेका छन् । सुदूरपश्चिममा एमालेले समर्थन फिर्ता लिए मुख्यमन्त्री भट्टको पद धरापमा पर्ने देखिएकोमा कर्णालीमा भएको ‘फ्लोर क्रस’ जस्तै सुदूरपश्चिममा पनि एमालेले साथ दिने संकेत देखाएपछि प्रदेश सरकार जोगिनेमा मुख्यमन्त्री भट्ट ढुक्क देखिएका हुन् ।

आइतवार धनगढीमा आयोजित पत्रकार महासंघ कैलालीको पदस्थापना कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम सरकार संकट नरहेको दावी गरेका छन् । उनले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताउदै सरकार फेरवदलका विषयमा छलफल नै नभएको बताएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?