व्यावसायिक विस्तारका लागि स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य आवश्यक : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक गतिविधिको विस्तारका लागि सबै स्थानीय तहहरुले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिन आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको १०औँ अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले स्थानीय तह र निजी क्षेत्रबीच व्यावसायिक पार्टनरशीप गरेर अगाडि बढ्न सके मात्र स्थानीय तहमा प्रयाप्त मात्रामा रोजगारी सृजना हुने, राजश्व तथा कर संकलन हुने बताए ।

‘स्थानीय तहहरुले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक पार्टनरको रुपमा लिन सकेमात्र व्यावसायिक गतिविधिहरु विस्तार गर्न सहज हुन्छ, स्थानीय स्तरमा रोजगारी सृजना हुन्छ, राजश्व तथा कर संकलन हुन्छ ।’ उनले भने ।

उनले व्यावसायिक वातावरण बनाउन सहजीकरण गरेर निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनसकेमात्र व्यावसायिक गतिविधिहरु विस्तार गर्न सकिनेछ र मुलुकमा विकास र सम्मृद्धि आउने बताए ।

भूकम्पपछि सिन्धुपाल्चोक नाकाबाट हुने व्यापारमा कमी आएको बताउँदै उनले अहिले सिन्धुपाल्चोक नाकाबाट हुने व्यापार बढाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूलले पहल गर्ने बताए ।

त्यस्तै, उनले अहिले एकल अंकमा आएको बैंकको ब्याजदरलाई सदुपयोग गरी व्यावसायिक गतिविधिहरुलाई विस्तार गर्न जिल्ला उद्योग वाणिज्य संघ तथा स्थानीय व्यवसायीहरुलाई आह्वान समेत गरे । ‘हामीले लामो प्रयासपछि अहिले बैंकको ब्याजदरलाई एकल अंकमा ल्याउन सफल भएका छौं । यसमा नेपाल उद्योग वाणिज्य महासंघको निकै ठूलो र महत्वपूर्ण भूमिका रहेको छ । एकल अंकको ब्याजदरलाई सदुपयोग गरी व्यावसायिक गतिविधिहरु विस्तार गर्नुस् । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष, एउटा बैंकको अध्यक्ष तथा एउटा व्यवसायीको नाताले मैले गर्ने सहयोग र सहकार्य तपाईहरुसँग हुनेनै छ ।’ उनले भने

सरकार अहिले आगामि आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माणको तयारी र छलफलमा रहेको बताउँदै बजेट बनाउँदा बजेटमा महासंघकोतर्फबाट दिने सुझाव तथा सल्लाहका लागि स्थानीय व्यवसायीहरुलाई आग्रह समेत गरे ।

साथै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले भूकम्प, बाढिपहिरो लगायत विभिन्न प्राकृतिक विपत्तिहरुमा पीडितको राहत, उद्धार तथा जिविकोपार्जनमा खेलेको भूमिकाको प्रसंशा गर्दै यस्ता सामाजिक गतिविधिहरुले व्यवसायीहरुको समाज प्रतिको उत्तरदायित्व र योगदान पनि देखिने वरिष्ठ उपाध्यक्ष ढकालको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?