सोह्र वर्षदेखि पुनः स्थापनको पर्खाइमा निकुञ्ज विस्थापित परिवार

कञ्चनपुर, २० असोज ।कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट १६ वर्ष अघि विस्थापनमा परेका दुई हजार ४७३ परिवारको अझै पुनः स्थापन हुन सकेको छैन ।समस्या समाधानका लागि २९ वटा आयोग बने पनि समस्या समाधान नभएपछि विस्थापनमा परेका परिवार १५ वटा शिविरमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । “स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले समस्या समाधानका लागि कार्य योजनामा राखेपनि चासो नदिँदा झनै पीडित बनेका छौँ” शुक्लाफाँटा निकुञ्ज संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले भने ।स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले चासो दिई समस्या समाधान गर्नेमा आशावादी भए पनि कार्य अगाडि नबढ्दा चिन्तित हुनुपरेको उनले बताए ।सुक्खायाममा गर्मीको सास्ती, वर्षात्मा झोपडीमा पानी चुहिँदा खाद्य सामग्रीसहित परिवार जोगाउन गाह्रो र हिउँदमा कठयाङ्ग्रिदो जाडोमा जीउ जोगाउननै मुस्किल भएको समितिका अध्यक्ष भण्डारीले बताए ।बस्दै आएको शिविरमा खानेपानी, स्वास्थ्य, शिक्षा र स्थानीय निकायले दिने सेवा सुविधाबाट समेत विस्थापित परिवार वञ्चित रहेका छन् ।दैनिक मजदुरीसमेत यहाँ नपाइदा भारतीय शहरमा छ महिना सम्म काम गरेर पेट पाल्दै आएको प्रेमबहादुर ऐरले बताए । युवा सबै भारततर्फ लाग्दा शिविरमा बूढापाका, महिला र बालबालिका मात्रै रहेका छन् ।आर्थिक अभावले उपचार गराउन नपाउँदा शिविरमा बसेदेखि हालसम्म बिरामी परेर १३८ जनाको ज्यान गइसकेको संघर्ष समितिका अध्यक्ष भण्डारीको भनाइ रहेको छ । बसेकै स्थानमा जग्गाको मापदण्ड निर्धारण गरी वास्तविक पीडित परिवारलाई पुनःस्थापन गराइनु पर्ने विस्थापित परिवारको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?