सकरपुरामा झाडापखालाको प्रकोप, दर्जनौँ बिरामी

राजविराज, २० असोज ।सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ ।पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासि झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत भएका छन् ।घर नजिकै रहेको नदीमा माछा मारेर खाँदा एक्कासि फैलिएको झाडापखालाको प्रकोपले तिलाठी कोइलाडी–३ सकरपुराका मनोज मण्डल र उनी श्रीमती गीतादेवी मण्डल सिकिस्त बिरामी परेकी छिन् ।दुवै जनालाई उपचारको लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको स्थानीयवासीले बताइएका छन् । बिरामी परेका एक दर्जनलाई गाउँमै राखेर जिल्ला जनस्वास्थ्य कार्यालयले शिविर सञ्चालन गरी उपचार गराइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले.बताए ।त्यस्तै सिकिस्त बिरामी परेकालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको लागि ल्याई उपचार थालिएको अस्पतालबाट थाहा भएको छ ।चेतनाको अभाव र सरसफाइमा ध्यान नदिएका कारण सकरपुरामा एक सातादेखि बढेको प्रदूषित नदीबाट माछा मारेर त्यतिकै खाने गरेकाले सो प्रकोप फैलिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।दुई महिना अगाडि जिल्लाको विभिन्न खोला र नदीमा आएको भीषण बाढीका कारण सकरपुरासहित सो क्षेत्रका हजारौ व्यक्ति बाढीबाट प्रभावित भएका थिए ।त्यस्तै केही दिनयता मौसममा एक्कासि परिवर्तन आएपछि अहिले राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा रुघाखोकी, ज्वरो, झाडापखाला, विषमज्वरोलगायत विभिन्न रोगका बिरामी उपचार गराउनका लागि आउने गरेको पाइएको छ ।सो अस्पतालमा दिनहुँ २५ देखि ४० जनाभन्दा बढी बिरामी उपचारको लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा एक्कासि बिरामीको चाप बढेकाले श्ययाको समेत अभाव हुँदा बिरामी तथा बिरामीका कुरुवा भुइँमै बस्ने गरेको र भुइँमै उपचारसमेत गराउन बाध्य भएको अस्पतालका चिकित्सकले गुनासो गरेका छन् ।त्यस्तै अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अधिकांश बिरामी उपचार नपाएर धरान र विराटनगरको ठूलो अस्पतालमा जानुपर्ने बाध्यता समेत भोग्नु परिरहेको बिरामीका कुरुवाले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?