कर्णालीमा एमालेको ‘फ्लोर क्रस’ : नेपाल पक्षले प्रदेशबाट ओलीलाई दिए चक्मा !

लोकपथ
0
Shares

प्रकाश पुडासैनी /काठमाडौं । नेकपा एमालेका ४ सांसदहरुको मत पाएसँगै कर्णाली प्रदेश सरकार जोगिएको छ ।

कर्णाली प्रदेश सभामा शुक्रवार (आज) भएको मतदानमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २२ मत प्राप्त गर्दै आफ्नो पद जोगाएका छन् ।

एमाले (माधव कुमार नेपाल) पक्षका चार सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रको सरकार जोगाइदिएका हुन् ।

कर्णाली प्रदेशको कुन ४० मध्ये ३७ सांसदहरु बैठकको मतदानमा सहभागी भएका थिए । ती मध्ये १५ जनाले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गरेका थिए ।

कांग्रेसले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई शुरुमै समर्थन गरेको घोषणा गरेको थियो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै माओवादी केन्द्रको १२ र कांग्रेसको ६ मत गरि मुख्यमन्त्री शाहीको पक्षमा जम्मा १८ मत देखिएको थियो । तर मतदानका बेला एमालेकै ४ सांसदहरुले साथ दिएसँगै मुख्यमन्त्री शाहीले सभामा रहेको कुल संख्याको बहुमत प्राप्त गर्दै पुनः मुख्यमन्त्रीको पदमा रहन पाएका हुन् ।

मुख्यमन्त्री शाहीले आवश्यक संख्या पाउन नसक्ने कुरामा विश्वस्त थिए, प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेल । उनलाई भावी मुख्यमन्त्रीका रुपमा हेर्न थालिएको थियो । तर उनले सोचेजस्तो भएन । ‘एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर राजनीतिक अपराध गरेको’ उनको टिप्पणी छ । कँडेलका अनुसार,उनीहरुमाथि पार्टीले कडा कारवाही गर्नेछ ।

एमाले र माओवादी केन्द्रको एकिकरणसँगै कर्णालीमा नेकपा नेतृत्वको सरकार गठन भएको थियो । तर २३ फागुनमा सर्वोच्चले दुवै पार्टीलार्ई पूर्ववत् रुपमा फर्काइदिए सँगै केन्द्रदेखि प्रदेशसम्मको सरकार परिवर्तनको कसरत भइरहेको छ ।

पार्टी पूर्ववत् रुपमा फर्किएपछि एमाले विवाद झन चुलिएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट भएका वरिष्ठ नेता नेपाल पक्षले भने देशभर समानान्तर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

यसको असर कर्णाली प्रदेशमा देखियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?