सत्ताको कसरतमा दलहरु : जसपाको भर खोज्दै प्रधानमन्त्री ओली

लोकपथ
0
Shares

काठमाडौं–सर्वाेच्च अदालतले २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा ब्यूताउने फैसला गरेपछि राजनीतिक दलहरु सत्ता समीकरणको कसरतमा लागेका छन् । तर नतिजा भने निस्किइसकेको छैन । कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा लागेका छन् । तर ओली त्यसलाई सकेसम्म रोक्ने प्रयासमा छन् ।

महन्थको भर खोज्दै ओली

आफूलाई तत्काल प्रधानमन्त्रीबाट कसैले पनि हटाउन नसक्ने विश्वासमा रहेका ओली बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ विरुद्ध कांग्रेस,माओवादी र जसपा मिलेर अविश्वास प्रस्ताव ल्याएपछि झस्किएका छन् ।

प्रधानमन्त्री ओलीले बिहिबार नै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर छलफल गरेका छन् । उनले आफ्नो सरकार जोगाइराख्न ठाकुरको सहारा खोजेका छन् । प्रतिनिधिसभामा अहिलेको गणितमा एमालेका १ सय २१,कांग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ मध्ये चारजना एमालेतिर लागेपछि सांसद पद खोजिएको छ । अव माओवादीका ४९ जना छन् । जनता समाजवादी पार्टी (जसपा)का ३४ (दुई जना निलम्बित) जना सांसद रहेका छन् । त्यसैगरी राप्रपा,जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको एक–एक जना सांसद छन । सरकार बनाउनका लागि १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ ।

अहिले ओलीलाई माओवादी केन्द्रको साथ छ । उसले समर्थन फिर्ता लिने बित्तिकै ओली सरकार ढल्छ । माओवादी जतिसक्दो चाँडो ओलीलाई सत्ताबाट ओराल्ने योजनामा छ । तर जसपाले निर्णय नगर्दा ओलीको विकल्पमा विपक्षीको सत्ता समीकरण गठबन्धन बन्न सकेकने छैन ।

अविश्वास छेक्ने प्रयास गर्दे ओली

प्रधानमन्त्री ओली सकेसम्म विपक्षीलाई रोक्ने र आफूविरुद्ध अविश्वास प्रस्तावमा बहुमत पुग्न नदिने कसरत गरिरहेका छन् ।
‘आफूविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने सुँइको पाएर नै ओलीले अध्यक्ष ठाकुरसंग छलफल गरेका हुन्,’ समाजवादी पार्टीका एक नेता भन्छन्,‘ओली जसपामा पनि पूर्व राजपालाई साथ लिँदा आफ्नो सरकार टिक्ने र विपक्षमा बहुमत नपुग्ने विश्वासमा छन् ।’ राजपाबाट कम्तिमा १८ जना सांसद आफ्नो पक्षमा आउने ओलीको अनुमान छ । तर ती नेताका अनुसार जसपा अब कुनै पनि हालतमा टुक्रिदैन । ओलीले जति फकाएपनि जसपाका संविधान संसोधन लगायतका माग ओलीले पूरा गर्न सक्ने स्थिति छैन । संविधान संसोधनमा दुई तिहाइ नभई हुँदैन । उनले यस अघि झण्डै २ तिहाइको बहुमत हुँदा त संविधान संसोधन गरेनन् भने अब गर्लान् भन्ने छैन । तर सत्ता जोगाउन विभिन्न आश्वासन भने ओलीले दिइ नै रहेका छन् ।

५ पुसमा प्रतिनिसधसभा विघटन गरेका ओलीले प्रतिनिधिसभा पुनः स्थापनापछि सत्ता जोगाउन फेरि अरुको सहारा लिन खोजिरहेका छन् । प्रधानमन्त्री ओलीको व्यवहारका कारण एमालेभित्र असन्तुष्टि चुलिएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई बाइपास गरेर ओली अघि बढ्न खोजिरहेका छन् । यस्तो अवस्थामा सिंगो एमालेले ओलीलाई साथ देला भन्ने पनि छैन ।

ओली–दाहाल टेलिफोन संवाद

प्रधानमन्त्री ओलीले शनिवार सर्वदलीय बैठक बोलाएका छन् ।
शुक्रबार ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन वार्ता गरेका छन । दलहरुद सत्तासमीकरणको प्रयासमा लागेका बेला ओलीले सर्वदलीय बैठक बोलाउनु र दाहालसँग सम्बन्ध चिसिएका बेला टेलिफोन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अझै अन्योलमा कांग्रेस

गण्डकी प्रदेश सरकारविरुद्ध तत्कालै ताते पनि कांग्रेस केन्द्रमा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन भने हतारिएको छैन ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको एउटा गुटलाई फकाइरहेका छन् । यस्तो अवस्थामा भोलि अविश्वासको प्रस्ताव फेल भएमा फेरि एक वर्षसम्म अविश्वास ल्याउन सकिने छैन,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्,‘त्यसकारण कांग्रेसले सिंगै जसपासँग लिखित रुपमा प्रतिवद्धता खोजेको छ । त्यसकारण पनि कांग्रेस ओलीको विकल्पमा सरकार बन्ने निश्चित भएपछि मात्रै अघि बढ्न खोजेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?