कैलालीमा कोरोनाको जोखिम बढ्दो : विद्यालय बन्द गर्नेबारे भएन छलफल

लोकपथ
0
Shares

टेकसिँह धामी/धनगढी- कोभिड–१९ जोखिम बढ्दै गए पनि कैलालीका सहरी क्षेत्रमा विद्यालय विद्यालय बन्द गर्ने विषयमा छलफल नै हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित कैलालीसहित १४ जिल्लाका सहरी क्षेत्रका सबै विद्यालय आज शुक्रवारदेखि नै बन्द गर्न आग्रह गरे पनि जिल्लामा विद्यालय बन्द गर्ने विषयमा छलफल नभएको हो ।

प्रदेशको राजधानीसमेत रहेको धनगढीमा विद्यालय बन्द गर्ने विषयमा कुनै निर्णय हुन सकेको छैन । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले केन्द्रबाट लिखित रूपमा कुनै निर्देशन नआएको र सो विषयमा छलफल पनि नभएको बताए । उनले भने, ‘केन्द्रबाट कुनै परिपत्र आएको छैन् । अहिले नै विद्यालय बन्द गर्ने विषयमा कुनै निर्णयमा पुगेका छैनौँ ।’ शिक्षा महाशाखाका उपसचिव नरेन्द्रबहादुर खातीले पनि विद्यालय बन्द गर्ने विषयमा छलफल नभएको बताए । उनले विपद् व्यवस्थापनसम्वन्धीको बैठकमा भने सो विषयमा छलफल गर्ने बताए ।

कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कठायतले पनि विद्यालय बन्द गर्ने विषयमा कुनै निर्णय नभएको बताइन् । जिल्लामा सरकारी र निजी विद्यालय अहिले निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । भारतको सीमासँग जोडिएको जिल्ला हुँदा यहाँ कोभिड जोखिम भने बढ्दो छ । त्रिनगर नाका भएर दैनिक हजार बढी नेपाली कैलाली भित्रिरहेका छन् भने उनीहरूमध्ये झण्डै ८ प्रतिशतमा कोरोना देखिएको छ ।

पछिल्ले पाँच दिनमा दुई हजार दुई सयको एन्टिजेनमार्फत कोभिड परीक्षण गर्दा एक सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । बिहिवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कैलालीसहितका १४ जिल्लाका सहरी क्षेत्रमा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउने बताएका थिए । अति प्रभावित १४ जिल्लामा कैलालीसहित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?