बबई सिँचाइ आयोजना : ३३ वर्षमा आधा मात्रै भौतिक प्रगति

कमला अर्याल । काठमाडौं । सरकारका हरेक राष्ट्रिय गौरवका आयोजना जस्तै बबई सिँचाइ आयोजनाको प्रगति पनि सन्तोषजनक छैन ।

काममा ढिलासुस्ती,राजनीतिक गतिरोध, जग्गा प्राप्तिमा सामाजिक तथा प्रक्रियागत जटिलताले राष्ट्रिय गौरवका आयोजना हरुको काम प्रभावित भएको छ । त्यसैगरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र मानव मेसिनरी सामग्री ढुवानीमा तथा आवागमनमा अवरोध, नदीजन्य निर्माण सामग्री ढुङ्गा, गिट्टी, बालुवाको अभाव हुनु लगायतका कारण कुनै पनि राष्ट्रिय गौरवका आयोजनाहरु समयमा सम्पन्न हुन सकिरहेका छैनन ।

निर्धारित समयमा आयोजनाका काम सम्पन्न गर्न नसक्दा एकातिर सरकारकालाई आर्थिक रुपमा भार थपिरहेको छ भने अर्काेतिर सरकारको लक्ष्य हासिल हुन सकिरहेको छैन । बबई सिँचाइ आयोजना पनि त्यस्तै भएको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्ममा यसको समष्टिगत भौतिक प्रगति ५१.१२ प्रतिशत र वित्तिय प्रगति ४४.७७ प्रतिशत मात्रै भएको छ । यो आयोजना आर्थिक वर्ष २०४५/४६ मा शुरु भएको थियो भने आर्थिक वर्ष २०६९/७० मा सम्पन्न हुने लक्ष्य राखिएको थियो । तर समयमा सम्पन्न हुन नसकेपछि संशोधन भई आर्थिक वर्ष २०७९/८० सम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ । त्यस्तै,यस आयोजनाको शुरुको अुमानित लागत २८७.३९ करोड थियो भने पछिल्लो संशोधित लागत १८ अर्ब ९६ करोड रहेको छ । यस आयोजनाका लागि आर्थिक वर्ष २०७६/७७ मा संशोधित १३९ करोड विनियोजन भएको थियो । जसमा ८४ करोड खर्च भएको छ ।

यस्तो छ हालसम्मको प्रगति

हालसम्म बबई नदीमा ३ सय १५ मिटर लम्बाइको पुल सहितको बाँध निर्माण भइसकेको छ । त्यस्तै, नदीमा ५सय ५१ मिटर लम्बाई र ३० क्यूमेक्स क्षमताको साइफन जडान भइसकेको छ । त्यस्तै,पूर्वी मूल नहर ३४.५ किलोमिटर मध्ये करीब ३३.० किलने मिटर रि–मोडेलिङ (लाइनिङ) सम्पन्न,पश्चिम मूलनहर ४२ किलोमिटर मध्ये २४ किलोमिटर सम्पन्न (२२ देखि २८ किलोमिटरसम्म दुई प्याकेजमा निर्माण भैरहेको),शाखा नहर (४ वटा, बि १ देखि बि ४ सम्म) जम्मा लम्बाइ ६०.३ किलो मिटर ,शाखा नहरबाट प्रशाखा नहर गरी ४०.७ किलो मिटर,सिंञ्चित क्षेत्रफलमा पूर्वतर्फ (२१००० हेक्टर पश्चिमतर्फ १५००० हेक्टर) गरी जम्मा ३६हजार हेक्टर मध्ये आर्थिक वर्ष २०७५/७६ सम्म पूर्वतर्फ १९ हजार ५ सय हेक्टर र पश्चिमतर्फ १० हजार हेक्टर गरी २९ हजार ५सय हेक्टरमा सिंचाइ सुविधा पुगेको छ ।

त्यस्तै,जग्गा अधिग्रहण तथा मुआब्जा वितरण कार्य,सिञ्चित क्षेत्र बचावट बबई नदीमा ११.२ किलोमिटर सम्पन्न र बाँयातर्फ ९.६ ,किलोमिटर सिञ्चित क्षेत्र बचावट गर्ने गरी सम्झौता भै निर्माण भइरहेको छ । त्यसैगरी ड्रेनेज निर्माण ४० किलोमिटर गर्ने गरी प्रस्ताव भएकोमा ४ किलोमिटर ड्रेनेज निर्माण भैरहेको । सिञ्चित क्षेत्र विकास र विस्तार ३६ हजार हेक्टर गर्ने गरी प्रस्ताव भएको,कृषि प्रसार र संस्थागत विकास कार्य शुरु भएको,उपभोक्ता समितिको २ वटा भवन तयार र थप १ को डिजाइन तयार भएको,बबई सिँचाइ आयोजनाको मोबाइल एप्स र वेबसाइट तयार भएको छ ।

यो आयोजनाको सन् १९७५ मा आइडिएको सहयोगमा प्रारम्भिक अध्ययन सुरु भएको थियो । सन् १९७७ र सन्, १९८० मा युएनपीको सहयोगमा सम्भाव्यता अध्ययन गरी सन् १९८१ मा आइडिएको सहयोगमा डिजाइन तयार भएको थियो ।

यो आयोजना बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका १० बैदीमा अवस्थित छ । विक्रम संवत २०५० मा पहिलो ५.५ किलोमिटर नहर निर्माण सम्पन्न भएकोमा सन् २०१२ मा भेरी बबई डाइभर्सनको विस्तृत डिजाइन तयार भई आयोजना निर्माण भइरहेको छ ।

बर्दिया जिल्लाको ३६ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु-याउने यस आयोजनाको लक्ष्य रहेको छ ।

समस्या तथा चुनौतीहरु
जग्गा प्राप्तिमा सामाजिक तथा प्रक्रियागत जटिलता

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र मानव मेसिनरी सामग्री ढुवानीमा तथा आवागमनमा अवरोध

नदीजन्य निर्माण सामग्री ढुङ्गा, गिट्टी, बालुवाको अभाव रहुनु

बिजुली इन्टरनेट, टेलिफोन, सवारी साधन तथा अन्य आवश्यक स्रोत साधनको अपर्याप्तता

बाढी, भूक्षय, डुबान, कटान र पानीको स्रोतमा कमी

जल उपभोक्ता समितिको संस्थागत विकास कार्यमा कमी,

विगतमा स्रोत साधनको कमी, करारको अपुग दरबन्दी, कर्मचारी अभाव

ठेक्काको म्याद थप हुन नसक्नु

बेरूजुलगत कट्टामा समस्या, टेलिफोन सुविधामा कमी र मोबाइल सिग्नल कमजोर रहेको लगायतका समस्या तथा चुनौतीहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?