भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठक प्रभावित

लोकपथ
0
Shares

काठमाडौं । सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाफ पठाएको छैन ।

भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठक प्रभावित भएको हो । बीडब्लूजीको पछिल्लो बैठक सन् २०१९ नोभेम्बरमा देहरादुनमा भएको थियो । कोभिडका कारण फिल्डमा जान सम्भव नरहेको जस्ता कारण देखाएर भारतले अनौपचारिक रूपमा बैठकको मितिप्रति असहमति जनाएको छ तर औपचारिक जवाफ आएको छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

नेपालले गत वर्ष जुलाईमा पहिलोपटक बैठकका लागि दुईवटा मिति प्रस्ताव गरेको थियो । भारतले कुनै जवाफ दिएन । नेपालले फेरि नोभेम्बरका लागि भनेर अर्को प्रस्ताव पठायो । त्यसलाई पनि भारतले त्यत्तिकै टार्‍यो ।

गत जनवरी तेस्रो साता परराष्ट्र मन्त्रालयले पुनः मार्च र अप्रिलमा दुईवटा मिति बैठकका लागि प्रस्ताव गर्‍यो । पछिल्लो प्रस्तावमा पनि भारतले औपचारिक प्रतिक्रिया दिएन । भारतले बैठकका सम्बन्धमा देखाएको बेवास्ताबारे नापी विभागका प्रवक्ता दामोदर ढकालले अनभिज्ञता प्रकट गरे । बैठकको मिति कूटनीतिक माध्यमबाट तय हुने गरेकाले त्यस विषयमा कुनै जानकारी छैन,’ प्रवक्ता ढकालले भने ।

कालापानी र सुस्ताबाहेकको सीमासम्बन्धी मुद्दा सुल्झाउन सन् २०१४ मा बीडब्लूजी गठन गरिएको थियो । बैठकमा नापी विभाग र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुन्छन् । सीमा समस्या समाधानका लाागि प्राविधिक तहमा तीन तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको बीडब्लूजी, उपमहानिर्देशकको नेतृत्वमा सर्भे अफिसियल कमिटी (एसओसी) र प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा फिल्ड सर्भे टिम (एफएसटी) छन् ।

भारतीय पक्षबाट पनि त्यहीअनुसार संयन्त्र बनाइएको छ । सबैभन्दा पहिले संयुक्त एफएसटीको टोलीले हालसम्म टुंगो लागिसकेका १ सय ८२ वटा स्ट्रिप म्यापलाई आधार बनाएर सीमा स्तम्भ, दशगजा क्षेत्र र सीमापार अतिक्रमणको स्थलगत अध्ययन गर्छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?