सत्ता समीकरणमा कांग्रेसको आलटाल : कसको दवाबमा छन् देउवा ?

लोकपथ
0
Shares

रामेश्वर सापकोटा /काठमाडौं–राजनीतिक दलहरु सत्ता समीकरणका लागि प्रयासरत रहे पनि अझै सफल हुन सकेका छैनन् । २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् रुपमा ब्यूताएपछि राजनीतिक दलहरु सत्ताको जोड घटाउमा लागेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न लागेका राजनीतिक दलहरु कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा अझै सफल हुन सकेका छैनन् ।

देउवामाथि शंका

कांग्रेस सभापति शेरबहादुर देउवाले २० चैतमा कांग्रेस केन्द्रीय कार्य समितिको बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गराएपनि त्यस यता निष्क्रिय रहेका छन् ।
एक कांग्रेस नेता भन्छन्, देउवा भित्रि रुपमा भरिसक्य ओलीकै निरन्तरतामा छन् । यसले पार्टीभित्रैबाट पनि देउवाप्रति शंका उत्पन्न भएको छ ।’ ओलीसँग देउवाले केही प्रतिवद्धता जनाएकोे हुनसक्ने ती नेताको आशंका छ । ओलीको विकल्प तत्काल खोजौँ भनेर नेताहरुले भन्दा देउवाले सत्ता समीकरणमा परिपक्व भएर अघि बढ्नुपर्ने भन्दै पन्छाउँदै आएका छन् ।

विकल्प देउ भन्दा पनि देउवा उदासिन

जसपाका एक नेताका अनुसार देउवालाई माओवादी र जसपाको पूर्ण समर्थन छ । देउवाले प्रतिपक्षी दलका नेताको हैसियतले ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्तावको नेतृत्व गरे देउवालाई साथ दिन माओवादी र जसपा तयार छन् ।
माओवादी र जसपाले देउवालाई आफै सरकारको नेतृत्व गर्न वा कांग्रेसकै अर्को कुनै अर्को ब्यक्ति अघि सार्न भने पनि देउवाले रुचि नदेखाएको ती नेता बताउँछन् । कांग्रेस, माओवादी र जसपा मिल्दा ओलीको सरकार ढल्छ। ओली सरकार ढाल्न अविश्वास प्रस्ताव आएमा देउवालाई एमालेभित्रकै माधव नेपाल पक्षको पनि साथ रहने ती नेताको दाबी छ । यस्तो अवस्थामा पनि देउवा किन अघि बढेका छैनन् भन्ने कुरा बुझ्न नसकिएको ती नेताको भनाइ छ । जसपामा पूर्व राजपा पक्ष ओलीको समर्थनमा लागेपनि ओली नेतृत्वको सरकार नटिक्ने उनको दाबी छ ।

प्रदेश सरकार पनि प्रभावित

केन्द्रमा देउवाले चासो नदेखाए पनि प्रदेशमा सत्ता समीकरणको प्रयासमा दलहरु लागेका छन् ।
बिहिवार गण्डकी प्रदेश सरकार विरुद्ध कांग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने सुइको पाएपछि मुख्यमन्त्री गुरुङले हिजो रातारात चालू प्रदेशसभाको अधिवेशन अन्त्य गराएका थिए । त्यसको बावजुद दलहरुले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । केही दिनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध पनि अविश्वास प्रस्ताव ल्याइने एक माओवादी नेताले बताए । कांग्रेस अघि बढेको खण्डमा अरु दल उसको पछि लाग्ने ती नेताको भनाइ छ ।

संघीय संसद प्रतिनिधिसभामा कसका सांसद कति

प्रतिनिधि सभामा अहिलेको गणितमा एमालेका १ सय २१, कांग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ मध्ये चारजना एमालेतिर लागेपछि सांसद पद खोजिएको छ । अव ४९ जना छन् । जनता समाजवादी पार्टी (जसपा) का ३४ (दुई जना निलम्बित) सांसद रहेका छन् । त्यसैगरी राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको एक-एक जना सांसद छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिने बित्तिकै ओली अल्पमतमा पर्नेछन् । सरकार बनाउनका लागि १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?