यसवर्षको चौँरी महोत्सव सम्पन्न

काठमाडौं । यो वर्षको चौथो चौँरी महोत्सव बुधवार सम्पन्न भएको छ ।

नेपाल र भारतको सिमानामा रहेको पाँचथर जिल्लाको फालेलुङमा आयोजना गरिएको चौँरी महोत्सव बुधवार सकिएको हो । यसलाई दक्षिण एशिया क्षेत्रको एक मात्र चौँरी महोत्सव मानिएको छ ।

उच्च पहाडी क्षेत्रमा पाइने चौंरी र त्यससँग जोडिएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत चार वर्षदेखि चौंरी महोत्सव आयोजना हुँदै आएको छ । फालेलुङ क्षेत्र घट्दै गएको र भएको क्षेत्र पनि व्यवस्थित नहुँदा चौँरी पालक किसान घट्दै गएका छन् । यस क्षेत्रका सांसद तथा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्ले फालेलुङको चौँरी महोत्सवलाई विश्वभर चिनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

फालेलुङमा हरेक वर्ष यो समयमा गोठसारी हुँदै चौँरीहरु आइपुग्छन् । उच्च हिमाली क्षेत्रको आम्दानीको मुख्य श्रोत चौँरीपालन जैविक विविधताको महत्वपूर्ण पक्ष पनि हो ।

अहिले महोत्सव क्षेत्रमा २१ वटा भन्दा बढी चौँरी गोठ रहेका छन् । यो मेला हेर्न तथा चौँरीबारे जानकारी लिन सीमावर्ति भारत तथा भुटान देखि किसानहरु आउने गरेका छन् । मेलामा चौँरीको दुधबाट बनेका परिकारहरु, भेडा, घोडा समेत राख्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?