आधाभन्दा बढीले घट्यो मूल्य वृद्धिदर, उपभोक्तालाई भएन राहत

काठमाडौं । पछिल्लो समय मूल्य वृद्धिदर आधाभन्दा बढीले घटेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले समग्रमा मूल्य वृद्धि घटेको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको  फागुनको तथ्यांकले मूल्य वृृद्धि घटेको देखाएको हो । राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी मूल्य वृृद्धि काठमाडौंमा घटेको छ ।

अघिल्लो फागुनमा ७.६१ प्रतिशत रहेको काठमाडौंको मूल्य वृद्धि २०७७ को फागुनमा २.५० प्रतिशत रहेको छ । अघिल्लो फागुनको तुलनामा यस फागुनमा ५ प्रतिशत बिन्दुले काठमाडौं उपत्यकाको मूल्य वृद्धि घटेको छ। त्यसैगरी, दोस्रोमा बढी मूल्य वृृद्धि घट्नेमा हिमाली क्षेत्र रहेको छ । यस क्षेत्रमा अघिल्लो फागुनमा ५.४२ प्रतिशत रहेको मूल्य वृद्धि भएको थियो भने गत फागुनमा १.१४ प्रतिशत रहेको छ । यस क्षेत्रमा ४.२८ प्रतिशत बिन्दुले मूल्य वृृद्धि घटेको छ ।

त्यस्तै,तराईमा ३.५९ प्रतिशत बिन्दुले मूल्य वृद्धि घटेको छ । अघिल्लो फागुनमा ६.८४ प्रतिशत रहेको मूल्य वृद्धि गत फागुनमा ३.२५ प्रतिशत छ । त्यस्तै,पहाडमा सबैभन्दा कम मूल्य वृद्धि घटेको छ । यस क्षेत्रमा २.१३ प्रतिशत मात्रै मूल्य वृद्धि घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो फागुनमा ५.५३ प्रतिशत रहेको मूल्य वृद्धि गत फागुनमा ३.४० प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार फागुनसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो । फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ । २०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमुहको मुल्य वृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले मूल्य वृद्धि घटेको तथ्यांक सार्वजनिक गरेपनि उपभोक्ताले भने राहत महशुस गर्न पाएका छैनन् । पछिल्लो समय तेल, गेडागुडी तथा तरकारीको मूल्य उच्च रुपले वृद्धि भइरहेको छ । दाङ स्थायी घर भइ नयाँ बजार बस्दै आएका महेश चौधरीले मूल्य घटेको भने पनि महशुस गर्न नपाएको बताए । त्यस्तै, गोरखा घर भई ठमेल बस्दै आएकी सीता ढकालले पनि आफूले मूल्य घटेको अनुभव गर्न नपाएको बताइन् । मूल्य वृद्धि घटेको तथ्यांकले देखाए पनि विद्यार्थी लगायत आम उपभोक्ताले राहत महशुस गर्न नपाएको ढकालको भनाई थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?