लोकपथको प्रधान सम्पादकमा सन्तोष आचार्य

काठमाडौं । इन्की क्वील इन्टरनेशनल प्रालिद्वारा संचालित लोकपथ डटकमको प्रधान सम्पादकमा सन्तोष आचार्य नियुक्त भएका छन् ।

लोकपथको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमका बीच अध्यक्ष रमेश जमकटेलले प्रधान सम्पादक आचार्यलाई स्वागत गरे । व्यवस्थापनले आजैबाट लागू हुनेगरी आचार्यलाई प्रधान सम्पादकमा नियुक्त गरेको हो ।

आचार्यको पत्रकारिता क्षेत्रमा २५ वर्ष लामो अनुभव छ । साढे दुई दशक कान्तिपुर पब्लिकेशनमा आवद्ध रहेका आचार्य कान्तिपुर पब्लिकेशनबाट प्रकाशित ‘कान्तिपुर दैनिक’, ‘साप्ताहिक’, ‘नारी’ र ‘नेपाल साप्ताहिक’मा कार्यरत थिए । वरिष्ठ पत्रकार किशोर नेपालको सम्पादकीय नेतृत्वमा रहेको ‘जनस्वतन्त्रता साप्ताहिक’बाट आचार्यले वि.सं २०५० देखि पत्रकारिताको यात्रा थालेका थिए ।

‘न खोजिएको न भनिएको र नलेखिएको समाचारलाई लोकपथले केन्द्रमा राख्नेछ,’ प्रधान सम्पादकको पदभार ग्रहण गर्दै आचार्यले भने, ‘आम जनताको स्मृतीमा सधैँ ताजा रहिरहने सार्थक समाचार मेरो प्राथमिकता हो ।’

आचार्यलाई लोकपथका अध्यक्ष रमेश जमकटेल, संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुप रोशन स्थापित, प्रमुख प्रशासकिय अधिकृत यज्ञम्बर श्रेष्ठ, समाचार संयोजक रामेश्वर सापकोटा, डेस्क सम्पादक अनिता आचार्य लगायतका पत्रकार तथा कर्मचारीले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा अध्यक्ष जमकटेलले पत्रकारिताको क्षेत्रमा लामो अनुभव बटुलेका आचार्य लोकपथमा जोडिनु गौरवको विषय भएको बताए । उनले चार वर्ष अघिदेखि संचालनमा आएको लोकपथको समाचार कक्षले नयाँ नेतृत्व पाएसँगै ब्यावसायिक पत्रकारितालाई अघि बढाउन अझ ठूलो मद्धत पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष जमकटेलले भने, ‘लोकपथलाई जनताको खबरबाहकको रुपमा अझ द्रुत गतिका साथ अघि बढाउन नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण हुने छ भन्ने विश्वास छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?