चाडपर्वको समयमा फरक रणनीतिका साथ निकुञ्ज सुरक्षा

चितवन, २० असोज – चाडपर्वको समयमा मानिसको ध्यान रमाइलो गर्ने तर्फ भइरहेको बेला चोरी तस्करको ध्यान निकुञ्जमा हुनसक्ने भन्दै फरक रणनीतिका साथ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षामा कडाइ गरिएको छ ।निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका बटुक दल गण र निकुञ्ज कार्यालयका कर्मचारीले निकुञ्जको कडाइका साथ सुरक्षा गरिरहेका छन् ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार पूरै निकुञ्जको अवस्था थाहा हुने गरी स्वीप अप्रेसन सम्पन्न गरिएको छ । दशैँ अगाडि निकुञ्जमा रहेको नेपाली सेनाको ४५ वटा पोष्ट र निकुञ्ज कार्यालयको १३६ वटा पोष्टका सेना र कर्मचारीले निकुञ्जमा स्वीप अप्रेसन गरेका हुन् ।चुरे अप्रेसन नाम दिएर अप्रेसन गरिएको कँडेलले बताउनुभयो । निकुञ्जको कसरा, जर्नेली, कछुवानी, सौराहा, खगेन्द्रमल्ली, अम्रिते, सुनाचुरी, वनकट्टा, बोटे सिमरा, बगई र इच्छानगरलगायतका पोष्टबाट निकुञ्जलाई घेरा हाली चुरे अप्रेसन गरिएको हो ।सो क्रममा खाना पकाउने चुल्हो, मानिस हिँड्ने बाटो, खानेकुरा फाले नफालेको, सडेगलेका खानेकुरा, जडीबुटी उखेले नउखेलेको, जनावर मरेकाजस्ता कुराको सूक्ष्म अध्ययन गरिएको छ । अप्रेसनको क्रममा पूरै निकुञ्ज क्षेत्रमा अवैधरुपमा मानिसको प्रवेश नभएको पाइएको छ । चार दिन लगाएर पूरै निकुञ्ज अप्रेसन गरिएको थियो ।सोपश्चात् पनि नियमित गस्तीबाहेक सौराहा क्षेत्रबाट छुट्टै एक समूहले निकुञ्ज गस्ती गरिरहेको छ । मंसिर दोस्रो साताबाट निकुञ्ज सुरक्षाका लागि प्रत्येक वर्ष हिउँदको समयमा गरिँदै आएको अप्रेसन महाहन्ट पनि गरिँदैछ । निकुञ्जमा दैनिक १५१ वटा साइकल, नौवटा गाडी, १६ मोटरसाइकल, चारवटा कुकुर, १७ वटा पोष्टबाट हात्तीले नियमित गस्ती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?