स्वास्थ्य मन्त्रालयले भन्यो- ‘ दैनिक ११ हजार संक्रमित पुग्न सक्छ’ 

RSS
0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए आगामी असारको अन्तिमसम्म ६ लाख संक्रमित पुग्ने प्रक्षेपण गरिएको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज मंगलवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अहिले सङ्क्रमण दर बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म ६ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको बताएका हुन् ।

उनले संक्रमण बढ्न नदिनका लागि सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र सङ्क्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिने बताए । उनले नेपाल भारतको मुख्य सीमा नाकामा एक हजार अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने कार्य भइरहेको जानकारी दिए । उनले बन्दाबन्दी अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताए । “गत वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी बन्दाबन्दीमा नगइकन रोकथाम र नियन्त्रण गर्न सक्षम छौं” उनले भने, “मुलुकलाई बन्दाबन्दीसम्म पुग्न दिदैनौँ ।”
मन्त्री त्रिपाठीले संक्रमणको दर बढ्दै गएकाले काठमाडौँ उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिँदै पहिलेको भाइरसले एक जनाबाट ६ जनामा संक्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा संक्रमण सार्न सक्ने बताए । उनले अर्थतन्त्रभन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताए ।

भारतमा संक्रमण बढेकाले खोप आउन ढिलाइ

मन्त्री त्रिपाठीले भारतमा संक्रमण ह्वात्तै बढेकाले कोभिड–१९ को खोप आउन ढिलाइ भएको जानकारी दिए । “खोप उत्पादक कम्पनीको स्थानीय एजेन्टले बिना लगानी १० प्रतिशत कमिशन मागेपछि २५ दिन ढिला भयो”, उनले भने, “तर सम्झौता हुने बेला भारतमा संक्रमण बढेपछि त्यहाँका सरकारले आयात रोकिएका कारण नेपालमा खोप आउन सकेन ।” उनले चाँडै नै १० लाख मात्रा खोप ल्याउने जानकारी पनि दिए ।

स्वास्थ्य सचिव चाँडै नियुक्त गरिने

मन्त्री त्रिपाठीले मन्त्रालयले स्वास्थ्य सचिव पनि चाँडै नियुक्त गरिने जानकारी दिए । उनले मन्त्रालयमा रहेकोे स्वास्थ्य सचिवको दरबन्दी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएकाले नियुक्तीमा ढिलाइ भएको जानकारी दिए । “पहिले यहाँ रहेको स्वास्थ्य सचिवको दरबन्दी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएको छ” उनले भने, “अब त्यो दरबन्दी यहाँ ल्याएर स्वास्थ्य सचिव हामी १०–१५ दिनमा नियुक्त गर्नेछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?