देशले लकडाउन थेग्न सक्दैन भन्दै सरकारलाई कांग्रेसले दियो ८ सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेरि देशले लकडाउन धान्न नसक्ने भन्दै हरेक व्यक्तिलाई मास्क लगाउन र भौतिक दूरीमा जोड दिन सरकारसँग माग गरेको छ ।

मंगलवार कोभिड-१९ अनुगमन समितिले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न ८ सुझावहरु दिएको छ ।

समितिका संयोजक प्रकाशशरण महतले आज विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ । साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजबुत गर्न समेत माग गर्दछौं ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुरा मात्रै नभइ काम समेत गर्न आग्रह गरेको छ ।

‘समग्रमा कोभिड-१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।’ भनिएको छ ।

यसैगरी स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि कार्यान्वयन नगरेको भन्दै त्यसलाई तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

‘स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन । यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ । स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् । साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस् ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?