भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या एक लाख ७० हजार नाघ्यो

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९ सय ४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार एक सय ७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमवार जानकारी दिएको छ ।

गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो सङ्ख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै सबैभन्दा धेरै भएको सरकारी स्रोतले सोमावार जनाएको छ ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । आइतवार भाइरस सङ्क्रमणको कारण ९ सय ४ जनाको मृत्यु भएको छ । यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो सङ्ख्या सबैभन्दा उच्च हो ।

भारतका कूल सङ्क्रमितको सङ्ख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजार भन्दा बढी रहेको छ । यद्यपी एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?