संसदको शून्य समय : रोजगारीदेखि एमसीसीसम्मका विषय

RSS
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको आज (सोमवार)को बैठकमा सांसदहरुले कोभिड–१९ का कारण मुलुकको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेसन (एमसीसी) लाई संसद बहसमा ल्याउन पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले एमसिसी कहिलेसम्म संसदमा विचाराधीन अवस्थामा रहने भन्दै तुरुन्त संसदमा बहसको विषय बनाउन माग गरे । सांसद गगनकुमार थापाले कोभिड–१९ का कारण वैदेशिक तथा मुलुकको उद्योग क्षेत्रमा धेरैले रोजगारी गुमाएको भए पनि पुनर्स्थापनाका बारेमा सरकारले प्रभावकारी काम गर्न नसेकेको आरोप लगाए ।

सांसद अञ्जना विशङ्खेले राज्य लोककल्याणकारी बनाउन राज्यका निकायलाई स्वायत्त रुपमा काम गर्न दिनुपर्ने बताइन् । अर्का सांसद अनिलकुमार झाले सामाजिक सुरक्षा भत्तालाई सहज र सुलभ बनाउन समस्याका रुपमा रहेको नवीकरणको व्यवस्थालाई सहजीकरण गनुपर्नेमा जोड दिए ।

सांसद उमा रेग्मीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाइदिने आश्वासन दिने सरकारले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरिन् । सांसद कृष्णबहादुर राईले अधिकार सम्पन्न एकीकृत वाग्मती समितिको प्रमुखमा धेरै व्यक्ति परिवर्तन भए पनि उद्देश्यअनुसार काम हुन नसकेको बताए ।

सांसद खेमप्रसाद लोहनीले वर्तमान सरकारले विकास निर्माणमा तीव्ररुपमा काम गरिरहेको भन्दै सरकारलाई धन्यवाद दिए । सांसद गङ्गा चौधरी सत्गौवाले राष्ट्र निर्माणका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखिन् । सांसद घनश्याम खतिवडाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर सरकारको राजीनामा माग्ने कुरा उचित नभएको बताए ।

सांसद चाँदतारा कुमारीले प्रतिनिधिसभा पुनः विघटन हुने आंशकाले सांसदहरु नै हतोत्साही अवस्थामा रहेको धारणा व्यक्त गरे । अर्का सांसद छक्कबहादुर लामाले सडक सञ्जालले नछाएको एकमात्र जिल्ला हुम्लामा भोकमरी हुन नदिन हवाई माध्यमद्वारा खाद्यान्न ढुवानी बढाउन सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?