काठमाडौं । सोमवार औँशी परेका दिन विहान नबोली स्नान गरी मनाइने सोमवारे औँशी आज विहान मौन स्नान गरी मनाइएको छ । सोमवार औँशी परेका दिन विहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।
आज परेको सोमवारे औँशी यस वर्षको तेस्रो सोमवारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमवारे औँशी पर्ने गरेको बताए । सोमवारे औँशी परेका दिन विहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको उनले भने ।
औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमवार औँशी परेका दिन मातापिता हुने नहुने सबैले विहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ ।
मातापिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमवार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले भने । यसअघि गत साउन ५ र मंसिर २९ पनि सोमवारे औँसी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया