काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले जित हात पारेको छ । आइतवार भएको खेलमा कोलकताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो ।
जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।

हैदराबादका मनिष पाण्डे ४४ बलमा २ चौका र ३ छक्का ६१ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन । युवा अलरान्डर अब्दुल समाद ८ बलमा २ छक्का सहित १९ रनमा अविजित रहे । अन्तिम बलमा आन्द्रे रसेललाई मनिष पाण्डेले छक्का प्रहार गरेपनि जितको लागि भने पर्याप्त थिएन ।
जोनी बेयरस्टो ४० बलमा ५ चौका र ३ छक्का सहित ५५ रनमा क्याच आउट भए । दोस्रो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले दीनेश कार्तिकबाट ओपनर तथा कप्तान डेविड वार्नरलाई ३ रनमा क्याच आउट गराएका थिए । लगत्तै तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर ऋद्धिमान शाहलाई ७ रनमा स्पिनर सकिब अल हसनले बोल्ड आउट गरेपछि हैदराबाद १०–२ को कमजोर अवस्थामा पुगेको थियो ।

खराब सुरुवात गरेको हैदराबादलाई तेस्रो विकेटका लागि मनिष र जोनी बेयरस्टोले ६७ बलमा ९२ रनको साझेदारी गर्दै जितको आशा जगाएका थिए । तर प्याट कमिन्सको १३ औं ओभरको अन्तिम बलमा बेयरस्टो नितेश रानाबाट क्याच आउट भएपछि हैदराबादको जित कठिन बनेको थियो ।
मोहम्मद नाबी १४ र विजय शंकर ११ रनमा आउट भए । कोलकता तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । आन्द्रे रसेल, सकिब अल हसन र प्याट कमिन्सले १–१ विकेट लिए ।
कोलकताले दोस्रो खेल मंगलवार मुम्बईसँग खेल्ने छ । हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरसँग बुधवार भिड्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया