निःशुल्क स्वास्थ्य बीमाले ज्येष्ठ नागरिकमा खुशीयाली

RSS
0
Shares

बागलुङ । बागलुङ नगरपालिका–४ पाखाथरकी ७१ वर्षीया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले बीमा गराएपछि धौलागिरि अस्पताल बागलुङबाट नियमित ग्याष्ट्रिकको औषधि लिएर सेवन गर्दै आउनुभएको छ ।

उनले घरमै आएका दर्ता सहयोगीमार्फत निःशुल्क स्वास्थ्य बीमा गराएपछि निःशुल्करुपमा अस्पतालबाट सेवा लिइरहेको बताए । ज्येष्ठ नागरिकका लागि सरकारको निःशुल्क बीमाको नीतिले आफूजस्ता ज्येष्ठ नागरिक खुशी भएको हरिकलाको भनाइ छ ।

अस्पतालमा पुगेपछि कुनै पैसा लाग्दैन, हामीजस्ता नियमित औषधि सेवन गर्ने ज्येष्ठ नागरिकलाई राम्रो भएको छ”,सापकोटाले भने, “घरमै बीमा गराउन आए, उनीहरुले दिएको परिचयपत्रका आधारमा अस्पतालमा गएपछि निःशुल्क सेवा पाउँदा हामी हर्षित छौं ।

सापकोटा मात्रै हैन, बागलुङ बजारको उपल्लाचौरका भीमबहादुर क्षत्रीले नियमितरुपमा मधुमेह र रक्तचापको औषधि निःशुल्करुपमा सेवन गर्दै आउनुभएको छ । उनले चार वर्षदेखि बीमा गर्दै आएकोमा पछिल्लो दुई वर्षयता निःशुल्क बीमा गर्दै आउनुभएको छ । उनले पैसा तिरेर गर्दै आएको बीमाले सहज भइरहेको बेला सरकारले पुनः हामीजस्ता ज्येष्ठ नागरिकलाई बीमा गराएर उपचारमा सजिलो बनाएको क्षत्रीको भनाइ छ ।

बागलुङ नगरपालिका–३ गुठीका ७९ वर्षीया चन्द्रकली कार्कीले मधुमेह, उच्च रक्तचापलगायतका नियमित औषधि बीमाबाटै पाउँछन् । उनले अधिकांश औषधि बीमाबाट र बीमाभित्र नपर्ने औषधि नगद तिरेर खरिद गर्दै आउनुभएको छ । हामीजस्ता दैनिक पाँच/छ थरीका औषधि खाने बिरामीलाई बीमा कार्यक्रमले ठूलो राहत मिलेको छ” कार्कीले भने,“सबैले स्वास्थ्य बीमा गरेर सेवा लिन सके राम्रो हुन्थ्यो, सरकारले बुझाउन सक्नुपर्दछ ।

हाल बागलुङमा ६५ हजार ७४० ले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराउनेमध्ये ३० हजार ८८२ पुरुष र ३४ हजार ८५८ महिला रहेको स्वास्थ्य बीमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायण शर्माले जानकारी दिए ।

परिवारको हेलामा परेर उपचार नपाएका ज्येष्ठ नागरिकलाई समेत निःशुल्क स्वास्थ्य बीमाले सहज गराएको र उपचारको पहुँचमा पुर्‍याउँदा ज्येष्ठ नागरिक खुशी भएको शर्माको भनाइ छ । सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई २०७६ वैशाखदेखि निःशुल्क स्वास्थ्य बीमा सेवा शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?