बेनीमा नयाँ विधिबाट फोहोर व्यवस्थापन

RSS
0
Shares

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा सङ्कलन र व्यवस्थापन गर्न थालिएको हो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ विधि अपनाइएको बताए । बेनीका एक हजार घरधुरीलाई रातो र हरियो रङको दुई वटाका दरले डस्टबिन वितरण गर्न थालेका छौं” उनले भने, “घरका सबै फोहोर ती डस्टबिनमा सङ्कलन गरेर राखिन्छ । हरियो डस्टबिनमा कुहिने र रातोमा नकुहिने फोहोर सङ्कलन हुन्छ ।

नगरपालिकाले ठेक्का प्रक्रियामार्फत १३ लाख ७६ हजारमा खरिद गरेको डस्टबिन घरधनीलाई आइतवारदेखि वितरण शुरु गरिएको छ । नगरप्रमुख श्रेष्ठले वडा नम्बर ७ को वीरेन्द्रचोक टोल सुधार समितिअन्तर्गतका घरधनीलाई डस्टबिन उपलब्ध गराएर वितरण कार्यको शुरु गरेका थिए ।

घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर सङ्कलन गरिँदा केन्द्रमा लगेपछि व्यवस्थापन गर्न सहज हुने बताइएको छ । यसअघि कुहिने र नकुहिने सबै फोहोरसँगै सङ्कलन गर्दा व्यवस्थापन गर्न असहज भएको थियो । बेनी बजारमा गरिएको अभ्यास सफल भएपछि गलेश्वर र तातोपानी बजारको फोहोर व्यवस्थापन गर्न पनि यस्तै विधि अपनाउने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले रातोपहिरोमा दुई वर्षअघि फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । ४७ लाखमा फोहोर सङ्कलन गर्ने टहरा निर्माण र घेराबार गरिएको छ । कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाइएको छ । केन्द्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने फरक–फरक ठाउँ बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?