अब जसपाको निर्णय कुर्दै कांग्रेस र माओवादी केन्द्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकार बनाउन प्रयासरत नेपाली कांग्रेस र माओवादी केन्द्रले जनता सानजवादी पार्टी (जसपा)को निर्णय पर्खेर बसेका छन् ।

गत शुक्रवार नयाँ सत्ता समीकरणबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको थियो । कांग्रेस सभापनि शेरबहादुर देउवा निवासमा बसेको तीन दलको बैठकमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखेको थियो । कांग्रेसको प्रस्तावमा माओवादी सहमत भएपनि जसपा भने पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने भनेर तर्किएको थियो । तर जसपा अहिलेसम्म निर्णयमा पुग्न सकेको छैन । ओलीलाई हटाउनको लागि कांग्रेस, माओवादी र जसपाको गठबन्धन बनेमा मात्र संभव छ । नत्र संभव छैन । त्यसमा पनि जसपा निर्णायक भूमिकामा छ । उसले जता समर्थन जनायो त्यसकै सरकार बन्नेछ ।

फाइदा हेर्दै जसपा

जसपामा पनि पूर्व राजपा पक्षका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग सत्ता साझेदार गर्न लचक छन् । उनीहरुले ओलीसँग पनि भित्री रुपमा वार्ता र छलफल गरिरहेका छन् भने कांग्रेससँग पनि वार्ता र छलफलमा छन् । जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने ओलीसँग सत्ता समीकरण गर्न हुँदैन भन्ने पक्षमा छन । जसपाले प्रधानमन्त्री ओली र कांग्रेससँग समदुरीमा कुराकानी गरिरहेको छ । महतोले ओलीसँगको सत्ता सहकार्यमा जोड दिएका छन् । जसपा जता फाइदा हुन्छ त्यतैतिर लाग्ने दाउमा छ ।

तत्कालका लागि ओलीसँग सत्तामा जाँदा जसपालाई बढी फाइदा

जसपाका एक पूर्व राजपा पक्षका नेताका अनुसार जसपालाई ओलीसँग सत्ता सहकार्य गर्दा तत्कालका लागि धेरै मन्त्राय जसपाको हातमा पर्छ । कांग्रेससँग सत्ता समीकरण गर्दा ३ वटा दल मिल्नुपर्छ त्यसमा जसपालाई थोरै मन्त्रालय भागमा पर्छ । ती नेता भन्छन ओलीसँग सहकार्य गर्दा जसपालाई घाटा पनि छ । ओलीले गत पुस ५ गते प्रतिनिधि सभा बिघठन गर्दा जसपा त्यसको विरुद्ध सडकमा उत्रिएको थियो । बिगतमा जसपालाई ओलीले फुटाउन पनि खोजेका थिए । यस्तो अवस्थामा ओलीसँगै सत्ता सहकार्य गर्दा आम मानिसले जसपालाई मुद्दा भन्दा पनि सत्ताको स्वार्थमा लागेको दलका रुपमा चित्रण गर्न सक्छन । त्यसकारण पनि काँग्रेससंग सत्ता सहकार्य गर्नुपर्नेमा जसपाका धेरै नेताहरुको मत रहेको ती नेताको दावी छ ।

जसपाका माग

जसपाले कैलाली घटनाका दोषी सांसद रेशम चौधरीलाई जेलमुक्त गरिनुपर्ने,आफ्ना अन्य नेता कार्यकर्ताहरुमाथि लगाइएको विभिन्न मुद्दा फिर्ता लिनु पर्ने लगायतका माग सरकारसँग राखेको छ । चौधरीलाई दोषी ठहर गरेर अदालतले जेल पठाइसकेको अवस्थामा उनको मुद्दा फिर्ता लिन सहज छैन । ओली र कांग्रेसको टाउको दुखाइको विषय पनि यहीनै छ । जन्म कैदको दोषीलाई उन्मुक्ति दिन खोज्दा त्यसले राम्रो सन्देश दिँदैन भन्ने बुझाइ धेरैको छ ।

चौधरीलाई २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा दोषी ठहर गर्दै २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र १ शिशु मारिएका थिए ।

एक कानूनविद् भन्छन सत्ताको साँचो आफ्नो हातमा भएका कारण जसपाले रेशमको मुद्दा उठाएको हुन सक्छ तर हत्या अभियोग लागेर जेल गइसेका ब्यक्तिलाई जेलमुक्त गर्न पक्कै पनि सजिलो छैन । यस्तो अवस्थामा कांग्रेस र माओवादी मात्रै होईन स्वयं प्रधानमन्त्री ओली पनि जसपाले के निर्णय गर्ला भनेर पर्खेर बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?