एक दिनको बाटो तीन घण्टामा छोटियो

RSS
0
Shares

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुगे । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग परे । यसअघि विहानै हिँडेर साँझमा घर पुगिन्थ्यो” उनले भने ,गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ ।

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुदी र मल्कवाङ सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र गाउँका जडीबुटी, कृषि उपज र खसीबोका निकासी गर्न सहज भएको छ ।

यसअघि सडक र यातायात सुविधा नहुँदा घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो पथ्र्यो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको मुदीका धनबहादुर घर्तीमगरले बताए ।

फलियागाउँबाट दर हुँदै मुदी र मराङको बेंशीबाट आरवाङ हुँदै मल्कवाङ जोड्ने सडकमा जीप, ट्र्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । २०७३ सालमा शुरु भएको छ किलोमिटर दूरीको मुना–मुदी सडक निर्माणमा तत्कालीन जिविस र गाउँपालिकामार्फत तीन करोडभन्दा बढी लगानी भएको छ ।

अक्करे र जोखिमयुक्त सिम्वाङको भिरलगायतका ठाउँमा पहाड फुटाएर बस चल्ने सडक बनाएका छौँ धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भने, “ सडक निर्माण भएपछि मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोसका करिब एक हजार घरधुरी लाभान्वित भएको उनले भने ।

प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले एक करोड ५२ लाखको लागतमा मराङको बेँशीबाट आरवाङ–हाङवाङ हुँदै मल्कवाङ जोड्ने ११ किलोमिटर सडक निर्माण गरेको हो । मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगङ्गा गाउँपालिकाको कुइनेखानीका करिब ५ सय घरधुरी लाभान्वित भएका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताए ।

यस सडकले मराङको आरवाङ, रिखा, घण्टीवाङ, हाङवाङका डेढ सय घरधुरीलाई पनि सुविधा पुगेको छ । उनले भने बेँशीबाट पैदलयात्रा गरेर मल्कवाङ पुग्न दुई घण्टा लाग्दथ्यो । अहिले सडक निर्माण भएपछि गाडीबाट ३० मिनेटमै पुगिन्छ ।

सात वटा वडा रहेको धवलागिरिको गुर्जाबाहेक छवटा वडामा सडक सञ्जाल पुगेको छ । प्रदेश सरकारमार्फत म्याग्दीखोला र मराङखोलामा मोटरेबल पुल निर्माण शुरु भएको छ । गाउँपालिकाले अस्थायी पुल बनाएको दाङखोलामा पक्की पुल बनाउन ठेक्का लागेको छ ।

मुदी जोड्ने सडकको दरखोलामा पनि मोटरेबल पुल निर्माणका लागि यस वर्ष संघीय सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए । गुर्जामा आन्तरिक सडक खन्ने र अन्य वडा तथा बस्तीमा खनिएका सडक स्तरोन्नतिमा प्राथमिकता दिएका छौं उनले भने, बाह्रै महिना यातायात सञ्चालनको व्यवस्था मिलाउन मोटरेबल पुल निर्माण पनि अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?