भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख २७ हजार कोरोना सङ्क्रमित

एजेन्सी । भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीवार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।

पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।

भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या नौ लाख १० हजार ३१९ रहेको छ । यसअघि एकैदिनमा सबैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना सङ्क्रमित भएका थिए ।
पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?