सरकारका ४ मन्त्रीहरुको सांसद पद चट्

काठमाडौं । वर्तमान सरकारका ४ मन्त्रीहरुको सांसद पद खारेज भएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको पद खारेज भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले त्यसबारे संसदलाई जानकारी गराएका हुन् ।
मंगलवार माओवादी केन्द्रले संसद सचिवालयमा ४ जना सांसदहरुको पद खारेज भएको भन्दै निवेदन दर्ता गराएको थियो ।

माओवादी केन्द्रबाट निर्वाचित उनीहरु पार्टी पूर्ववत् रुपमा फर्किएपनि एमालेमा नै बसेका थिए । गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता रद्ध गर्दै पार्टीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा फर्काइदिएको थियो । पार्टी पूर्ववत् रुपमा फर्काइदिएपनि उनीहरु एमालेमा नै बसेका थिए ।

माओवादी केन्द्रले चारै जनालाई स्पष्टीकरण सोधेको थियो । साहले मात्रै स्पष्टीकरणको जवाफ फर्काएका थिए । तर साहको जवाफ समेत चित्त बुझ्दो नभएको भन्दै माओवादी केन्द्रले उनीहरुको सांसद पद खोस्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?