महासंघमा महासंग्राम : कसले मार्ला बाजी ?

लोकपथ
0
Shares

काठमाडौं – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ ।

पत्रकार महासंघका १३ हजारभन्दा बढी साधारण सदस्यहरुले आफ्नो नेतृत्व चयनका लागि भोलि मतदान गर्न लागेका हुन् । प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि पहिलो पटक देशभर एकैदिन निर्वाचन हुन लागेको हो । मतदानका लागि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ। एक दशक लामो प्रयासपछि परिषद् सदस्य (पार्षद्) प्रणाली अन्त्य गरी महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् चयन हुन लागेको हो । महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लगेसँगै सबै पत्रकारहरुले आफ्नो नेतृत्व आफैं छान्ने अधिकार पाएका छन् ।
महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने र शाखामा संभव नभए महासंघले तोकेका सम्बन्धित मतदान केन्द्रमा मतदान गर्न पाइनेछ । प्रतिष्ठान र जिल्ला शाखामा पनि भोली नै मतदान हुनेछ ।

को – को छन् केन्द्रमा उम्मेदवार ?
महासंघको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी छन् । यद्यपी मुख्य प्रतिस्पर्धा भने पोखरेल र शर्माबीच नै हुने अनुमान गरिएको छ । अध्यक्षका उम्मेदवारमध्ये पोखरेल कांग्रेस निकट प्रेस युनियन, शर्मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले निकट प्रेस चौतारी र बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन् । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एमाले (नेपाल–खनाल पक्ष) निकट पत्रकार संगठनको एउटा प्यानल रहेको छ भने अर्काे प्यानल प्रधानमन्त्री ओली निकट प्रेस चौतारी र राप्रपा निकट पत्रकारहरुको रहेको छ । निर्वाचनमा केहीले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन्।

विपुल नेतृत्वको प्यानल
विपुल पोखरेलको नेतृत्वको संयुक्त प्यानलमा वरिष्ठ उपाध्यक्षमा युनियनकै रमेश विष्ट र महिला उपाध्यक्षमा बाला अधिकारी रहेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मसाल निकट प्रगतिशील पत्रकार संघका उदय जीएम उठेका छन् । महासचिवमा प्रेस सेन्टरका रोशन पुरी, सचिव खुलामा माधव नेपाल पक्ष प्रेस चौतारीका गोविन्दप्रसाद चौलागाईंको उम्मेदवारी परेको छ । सचिव महिलामा प्रेस युनियनकी सृजना अर्याल, आदिवाशी जनजातिमा नारायण सुन्दर किलम्बु, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलितमा हेमकर्ण विक रहेका छन् । एसोसिएट सचिवमा युनियनका पवन आचार्य, कोषाध्यक्षमा पनि युनियनकै कलेन्द्र सेजुवाल रहेका छन् । संयुक्त प्यानलबाट लेखा समिति संयोजकमा प्रेस सेन्टरका लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।

निर्मला शर्मा नेतृत्वको प्यानल

एमालेको प्रधानमन्त्री ओली निकट प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी सुवेदी, उपाध्यक्ष समावेशीमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुलामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी–जनजातिमा शाहीमान राई, सचिव मधेसीमा स्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एसोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी छन् । लेखा समिति संयोजकमा द्वारिकाप्रसाद काफ्ले रहेका छन् ।स्वतन्त्र सचिवमा जन्मदेव जैसी र रामप्रसाद शर्मा (यम विरही) को उम्मेदवारी परेको छ ।

महासंघमा निर्वाचित हुने नेतृत्वको आगामी चुनौती
पत्रकार महासंघमा निर्वाचित भएर आउनेलाई सबैभन्दा ठूलो चुनौती भनेको श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्नु रहेको छ । त्यससँगै पत्रकारका पेशागत हकहितको सुरक्षा पनि गर्नुपर्नेछ । कतिपय मिडिया संचालकहरुले यो ऐनको वेवास्ता गरेर पत्रकारहरुलाई समयमै पारिश्रमिक नदिने,सेवा सुविधाबाट वञ्चित गरिरहेको अवस्थामा यसमा ध्यान दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?