हाम्रो ‘फास्टफुड’ पुस्ता, किन सबै कुरा ‘फास्ट’ खोजिरहेको छ ?

दिबस खनिया । काठमाडौं । खेतीपाती गर्नेले बाली उठाउनका लागि एक वर्ष पर्खनुपर्छ। उद्यम गर्नेले त्यसबाट प्रतिफल लिन कम्तीमा तीन वर्ष कुर्नै पर्ने हुन्छ। कुनैपनि क्षेत्रमा सफलता हासिल गर्न, प्रगति गर्न, नाम कमाउन लामो संघर्ष र धैर्यताको जरुरत पर्दछ। तर, आजको हाम्रो पुस्ता यसरी पट्यारलाग्दो प्रतिक्षा गर्न तयार छैनन्। उनीहरुलाई हरेक कुरा केहि मिनेटभित्र भइसक्नुपर्छ भन्ने चाहना व्याप्त छ । उनीहरु निकै हतारमा छन्।
उनीहरु आज जे गर्दैछन्, तुरुन्तै त्यसको नतिजा खोज्न थाल्छन्। आज खेती गर्छन्, भोलि त्यसको उत्पादन खोज्ने गर्छन्। आज व्यापार गर्छन्, भोलि त्यसको मुनाफा खोज्ने गर्छन्। यो हाम्रो ‘फास्टफुड’ पुस्ता खाना मात्र होइन, अरु सबै कुरा फटाफट हात लाग्नुपर्छ भन्ने मान्यता राख्छन्। मानौँ उनीहरु तिव्रताका साथ बेग मारिरहेको बुलेट ट्रेनमा शयर गरिरहेका छन् र यो गतिशिलतासँग उनीहरुले आफ्नो लय समातेका छन्। थोरै रोकिएमा उनीहरुको जीवनको ट्रेन छुट्नेछ।

अहिले हाम्रो पुस्ता थोरै समयमा धेरै भन्दा धेरै उपलब्धी हासिल गर्ने दौडमा छन्। आखिर उनीहरु किन छन् हतारमा ? उनीहरुमा यस्तो प्रवृत्तिको विकास भयो कसरी ? यसमा धेरै हदसम्म आज उपलब्ध इन्टरनेट, उपकरण जिम्मेवार छ नै छ। जति–जति उपकरण उपलब्ध हुँदैछन्, त्यसले हाम्रो काम छिटो छरितो बनाइदिएको छ। यस्ता उपकरणहरुको प्रयोगबाट कुनैपनि काम फत्ते गर्न संभव भएको छ। आज हाम्रो पुस्ता सामान्य जोड घटाउन गर्न पनि क्याल्कुलेटरको सहयोग लिन्छ। इन्टरनेट र सर्च इन्जिनहरुले त यस्ता कामलाई अरु तिव्र र छरितो बनाइदिएको छ नै। आज कुनै कुराको जानकारी चाहिएमा कसैलाई सोधिखोजी गरिरहनु आवश्यक छैन। पुस्तक पल्टाउनु आवश्यक छैन ।

गुगलमा सर्च गर्नसाथ त्यससँग सम्बन्धित हजारौँ नतिजा हात लाग्छ, त्यो पनि निमेष भरमै। आफूलाई कुनै गीत सुन्न मन लाग्यो, युट्युब हाजिर छँदैछ। मुड फ्रेस छ भने, भिडियो गेमदेखि रमाइला सामाग्रीहरु सहजै उपलब्ध छँदैछ। संसारमा भइरहेका गतिविधिहरु क्षण भरमा नै अपडेट हुन्छन्। यस्तै यस्तै प्रविधि र माध्यममा एकाकार भइरहेका आजका युवापुस्ता अरु कुराहरुमा पनि यसरी नै छिटो–छरितो नतिजा प्राप्त होस् भन्ने अपेक्षा राख्नु स्वभाविक हो।

यही अपेक्षाका कारण अहिलेका पुस्ता र अभिभावकबीच तालमेल मिलिरहेको छैन। छोराछोरीको बढ्दो अपेक्षा आमाबुवाले पुरा गर्न समर्थ हुँदैनन्। नतिजा, छोराछोरी बुवाआमाबाट टाढिने वा कुलतमा फस्ने सम्मका खतरा बढ्दै गइरहेको छ। कुनैपनि कुरामा सफलता हासिल गर्न संघर्ष, लगाव र धैर्यताको जरुरी पर्छ। इन्टरनेटमा सर्च गर्नासाथ प्राप्त हुने नतिजा जस्तो जीवनमा सबै कुरा फटाफट हासिल गर्न संभव हुँदैन। त्यसका लागि कठिन संघर्ष, निरन्तर प्रयास र धैर्यता जरुरी हुन्छ। त्यही भएर सन्त कविर भन्छन् :

धीरे–धीरे मना, धीरे सब कुछ होया 
माली सींचे सौ घडा, ऋतु आए फल होया

अर्थात् धैर्यता राख्नाले सबै कुरा मिल्छ। यदि कुनै मालीले कुनै रुखमा सय गाग्री पानीले सिँचाई गर्छन्। तब ऋतु आएपछि त्यसको फल फल्न थाल्छ। भनिन्छ, धैर्य, दृढता र श्रम सफलताका लागि अपरिहार्य छ र हुनुपर्छ।

(लेखक दिबस खनिया टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता साथै सामाजिक अभियान्ता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?