काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने धारणा राखेका छन् ।
प्रतिनिधिसभाको आज (सोमवार)को बैठकको विशेष समयमा बोल्दै सांसद कँडेलले संविधानको धारा ७६ (१) अनुसार बनेको सरकारले पार्टी विभाजन पछि संविधान अनुसार नै ३० दिन भित्र विश्वासको मत लिनुपर्ने तर्क गरेका हुन् ।
संविधानको धारा १ सयको २ मा पार्टी विभाजन भएको वा सरकारमा संलग्न भएको दलले विश्वासको मत फिर्ता लिएको अवस्थामा ३० दिन भित्र प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दे “समर्थन फिर्ता लिनु ”भन्न नमिल्ने दाबी गरे ।
उनले भने “संविधानको धारा १ सय को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्छ । आजै ३० दिन हुदैछ । म प्रश्न गर्न चाहन्छु । दल विभाजित भयो । एमालेले हिजो समर्थन लिएको होइन । विश्वासको मत लिएको होइन । यो अवस्थामा हामी एमालेलाई चिन्दैनौ । त्यसकारण विश्वासको मत लिने कि नलिने ? उहाँ पन्छिन पाउनुहुन्न । विश्वासको मत फिर्ता लिए हुन्छ भनेर भन्न पाइन्न ।”
प्रधानमन्त्री ओलीले कुर्सी मोहका कारण आफु संगैका सहकर्मीलाई पाखा लगाएको र पार्टी एकिकरणलाई असफल पारेको दाबी उनले गरे । २०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तात्किान एमाले अध्यक्ष केपी शर्मा ओलीले गोर्खाको पालुङटारमा सम्बोधन गर्ने क्रममा आफ्ना सभापतिलाई कांग्रेसको तर्फबाट अन्तिम प्रधानमन्त्री भनेको प्रसंग उल्लेख गर्दे उनले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरुबाट एमालेको अन्तिम प्रधानमन्त्री पनि केपी ओली नै हुने जिकिर गरे ।
उनले भने “२०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तात्किान एमाले अध्यक्ष केपी शर्मा ओलीले गोर्खाको पालुङटारमा आमसभालाई सम्बोधन गर्न जानुभयो । उहाँले व्यक्त गरेका अभिव्यक्तिहरु उहाँकै शब्दमा म भन्न चाहन्छु – म भन्दिन चाहन्छु नेपालको इतिहासमा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेर बहादुर देउवा हो । मिति तोकिदिन पर्छ भने तोकिदिन्छु । २०७४ साल पुस महिना सम्म नेपाली कांग्रेसको प्रधानमन्त्री रहन्छ । र नेपाली कांग्रेसको यस देशमा प्रधानमन्त्री शेर बहादुर देउवा अन्तिम हुन्छन् । नेपाली कांग्रेसका कार्यकर्ता साथीहरुप्रति समवेदना व्यक्त गर्न चाहन्छु भनेर उहाँको अभिव्यक्ति थियो ।…जसरी उहाँले गोर्खामा भन्नुभयो, त्यहि शब्दमा भन्ने हो भने यदि स्थिति यही रह्यो भने सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् । त्यसपछि अघि बढ्न सक्तैन ।”
प्रधानमन्त्री ओली समुहका सांसद गोकुल बास्कोटा बोलेलगत्तै बोलेका सांसद कँडेलले बास्कोटालाई व्यंग्य गर्दे भने “जस्ता गुरु त्यस्ता चेला म त्येतातिर जान चाहन्नँ । ”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया